कांग्रेसको १९ बुँदे हेटौडा घोषणापत्र उठाइएका विषय यस्ता छन्
१९ बुँदे हेटौडा घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला सकिएको छ । घोषणापत्रमा तत्कालिन एमाले नक्कली राष्ट्रबाट भएको र अहिले लम्पसारबादमा परिणत भएको ठहर गरेको उल्लेख छ ।
चार दिन सम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । अलग बिचार राख्ने व्यक्ति, संस्थालाई सरकारले आक्रमण गर्दै गएको र यो तत्काल नरोकिए काग्रेस चरणबद्ध आन्दोलनमा उत्रने समेत चेतावनी हेटौंडा घोषणापत्र मार्फत दिइएको छ ।
जिल्ला सभापसितहरुले सरकार र पार्टी नेतृत्वको प्रवृति परिबर्तन गर्नका लागि सुझाव दिएका छन् । वर्तमान सरकार प्रति आक्रामक रुपमा प्रस्तुत भएपनि पार्टी नेतृत्व र नेताहरुले अब गुट उपगुट भन्दा पनि एक भएर सरकारका बिरुद्ध उत्रन हेटौंडा घोषणापत्र मार्फत सुझाव दिइएको छ ।
घोषणापत्रमा उल्लेख गरिएका सुझावहरु काग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउदै उनिहरुले यी सुझाव त्तकाल कार्यनयन गर्न आग्रह गरेका छन् ।
जिल्ला सभापतिहरुको भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।
मूल्यबृद्धिबारे प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र विद्यार्थीहरुको प्रदर्शनमा दमन भएको भन्दै कांग्रेसले यसलाई सरकारको जनविरोधी चरित्र भनेको छ ।
हेटौंडा घोषणापत्रमा भनिएको छ, कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना फेरि दोहोरिए सरकार विरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।’






