मेरा लागि राष्ट्र, लोकतन्त्र र कांग्रेस भन्दा प्रिय बस्तु अरु केहि छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेस भन्दा प्रिय बस्तु अरु केहि नरहेको बताउनु भएको छ ।
हेटौडामा सुरु भएको जिल्ला सभापतिहरुको भेला उद्घाटन गर्दै सभापति देउवाले बाल्यकाल देखि अहिलेसम्म आफ्नो जिवन यी तीन कुरामा समर्पित रहेको र बांकी जिवनपनि यसै उदेश्यका लागि समर्पित रहने बताउनु भयो ।
अहिले मुलुक थप संकटमा परेको भन्दै उहाँले कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने दाबी गर्नुभयो –“अहिलेको अबस्थामा गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको छ ।” कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्नु जस्तै रहेको बताउँदै देउवाले सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।
मूल्य बृद्धिले जनता आक्रान्त बनेकोमा चिन्ता ब्यक्त गर्दै उहाँले भन्नुभयो –“सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख छ । केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारी पनि हाम्रो काधमा आएको छ ।” केपी ओलीको राष्ट्रबाद अहिले लमपसारबादमा परिणत भएको देउवाले तर्क गर्नुभयो ।
उहाँले अब कमजोर मानसिकता नराखी उच्च मनोबलका साथ काम गर्न कांग्रेस केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टी भित्र नै केही असतुष्टि अभिव्यक्त हुने गरेको बताउँदै देउवाले भन्नुभयो–“कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन ।”






