एमाले र माओवादी एकता पछि बन्ने नयाँ पार्टी इतिहासकै ठूलो पार्टी बन्दै

नेकपा एमाले र माओवादी केन्द्र आज (बिहीबार) एकीकरण हुँदै छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् ।
आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरीे बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।
बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई घन्टा लामो छलफलपछि पार्टी एकताको निष्कर्षमा पुगेका हुन् ।
हिजो साँझ बसेको एमाले स्थायी समिति बैठकमा ओलीले र माओवादी हेडक्वार्टर बैठकमा प्रचण्डले दुई नेताबीचको सहमतिबारे ब्रिफिङ गरेका थिए ।
२०७४ साल असोज १७ गते राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक गरेका दुवै दलले साढे सात महिनापछि एकीकृत पार्टी घोषणा गर्न लागेका हुन्।
पार्टी एकता पछि नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ ।
संघीय संसद्को निर्वाचनमा सदर ८५ लाख ४८ हजार मतको ५२.३७५ मत एमाले–माओवादीले पाएका थिए । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ ।
दुवैको जोड्दा दुई तिहाइ भन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ । जसले ५२.३७५ जनमतको प्रतिनिधित्व गर्नेछ । नयापत्रिका






