एमालेको समर्थनमा चुनाव जितेर सांसद बनेका गुण्डा नाइके दीपक मनाङे पक्राउ, ओली प्रधानमन्त्री भएकै बेला मनाङ्गेको अपराध पुष्टि

गुण्डा नाइके दीपक मनाङ्गे काठमाडौंको स्वयंभूस्थित तीनधाराबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले मनाङ्गे पक्राउ परेको पुष्टि गरेका हुन् । मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका सांसद मनाङ्गे फरार थिए ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएको थियो ।
नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका थिए । एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला मनाङ्गेको अपराध पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।
२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो ।
फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर मनाङ्गेको खोजी गरिरहेका थिए ।






