३३ किलो सुन प्रकरणः ३८ जनाको सम्पूर्ण सम्पत्ति रोक्का गरी अनुसन्धान सुरु

छहारी संवाददाता
बैशाख ३, २०७५

प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न सनम शाक्यको हत्या आशंकामा ३८ जनाको सम्पूर्ण सम्पत्ति रोक्का गरी अनुसन्धान थालेको छ ।

अनुसन्धान तानिएका २१ जना भने फरार छन् । प्रहरीले हालसम्म १७ जना मात्र पक्राउ गर्न सफल भएको छ ।

उर्लावारीका शाक्यको हत्यापछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको छ । पौडेलको टोली पूर्व गएपछि ३८ जनाको सम्पत्ति रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको उच्च प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि भन्दै चैत २६ गते ३८ जनाको सबै कारोवार रोक्का गर्न आदेश माग गरेअनुरुप अदालतले सबैको बैक खाता, जग्गा लगायत सम्पत्ति रोक्का गर्न अनुमति दिएको हो । गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनालाई थप अनुसन्धान गर्न म्याद थपिएको छ ।

फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’ पनि छन् । शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति बनाएको हो ।

तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिने क्रममा भरिया सनम शाक्यको मृत्यु भएको आशंका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*