नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने
निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो ।आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३।२ किलोमिटर रहेको सडकको २८।५ किलोमिटर सडक पहिलो तह पिच भैसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५।५ किलोमिटर पिच भएको छ ।






