नयाँ वर्ष प्रारम्भ २०७५ सालको सबैमा शुभकामना
आज वैशाख १ गते, वैशाख शुक्ल पूर्णिमा, नया वर्ष २०७५ प्रारम्भ । आजको दिन नविन कार्यको थालनी गरे वर्षभरी सफल भइन्छ भन्ने मान्यता रहेको छ ।
नव वर्षको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गर्नुभयो ।
उहाँले विभिन्न तहका जननिर्वाचित निकायमा अभुतपूर्व रुममा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको बताउनुभयो ।
देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्व बनाउने दायित्व आम नेपालीको भएको उल्लेख गर्नुभयो ।
२०७४ साल ऐतिहासिक निर्वाचन वर्ष स् उपराष्ट्रपति पुन
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको भन्दै नयाँ वर्ष २०७५ शुभारम्भको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा लिएको उपराष्ट्रपतिको निजी सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस
नव वर्ष २०७५ ले समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुख शान्ति र समृद्धि ल्याओस हाम्रो पनि कामना
छहारी नेटवर्क परिवार






