हेटौडाकी शृङ्खला खतिवडा मिस नेपाल
हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडा यस वर्षकी मिस नेपाल घोषित भएकी छिन् ।
काठमाडौँको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
५ फिट ६ इञ्चकी शृङ्खला कलेज टपर हुन् । उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन् । लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन् । उनी आर्किटेक्ट बन्न चाहन्छिन् ।
प्रमुख जज गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएका चारलाई शीर्ष विजेता घोषणा गरिएको हो ।
यो संस्करणदेखि मिस नेपाल युनिभर्सको विधा पनि थपिएको छ । मनिता देवकोटाले उक्त उपाधि हात पारिन् । मिस युनिभर्स २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठले उक्त ताज मनितालाई पहिराइन् ।
प्रिया सिग्देल मिस नेपाल अर्थ भइन् ।
मिस नेपाल इन्टरनेसनको उपाधि रोनाली अमात्यले जितिन् । गत वर्ष पहिलोपटक घोषणा गरिएको ‘मिस नेपाल एसिया प्यासिफिक’ भने यो वर्ष प्रतियोगितामा समावेश गरिएन।






