गणेश लामाकाे ‘इन्काउन्टर’ गर्ने प्रयास असफल, (हेर्नुस् एक्सक्लुसिभ भिडियो)

छहारी संवाददाता
चैत्र २०, २०७४

गुन्डा नाइके गणेश लामाको पिंगलास्थानमा भएको ‘फाइट’को  भिडियो फेला परेको छ। भिडियोमा लामाले पेस्तोल ताकेर धम्काएका छन्।

गत फागुन ३० गते बेलुका पिंगलास्थानस्थित पशुपती भिजन होटलबाट निस्किएलगत्तै एक व्यक्तिले लामालाई गोली हान्ने प्रयास गरेका थिए। पछि लामाले पेस्तोल देखाएर ती व्यक्तिलाई धम्क्याउँछन्।

भिडियोमा लामा होटलबाट निस्कनुअघि एक गाडी त्यहाँबाट अघि बढ्छ। प्रहरी स्रोतका अनुसार त्यो गाडीमा गणेश लामाका भाई राकेश र उनका साथी मनोज आचार्य थिए।

रातो टिसर्ट लगाएका लामा झोला बोकेर गाडीतर्फ जाँदै गर्दा झगडा भएको थियो। भिडियोमा देखिएअनुसार पेस्तोल उनकै जीउबाट भुईमा खस्छ। त्यही पेस्तोल हातमा लिएर प्रतिद्वन्द्वीलाई उनले तर्साउँछन्। त्यो पेस्तोल लामाको भएको प्रहरीको दाबी छ। सोही आरोपमा उनलाई थुनामा राखी प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा कारबाही अघि बढाएको छ।

लामाले बयानमा बताएअनुसार मास्क र हुक लगाएका एक व्यक्तिले उनलाई पेस्तोल ताकेका थिए। एक राउन्ड फायरसमेत भएको थियो। तर, समयमै आफूले प्रतिवाद गर्दा गोली भुइँमा लागेको उनले बताएका छन्। आफूमाथि आक्रमण भएको पेस्तोल नै त्यहाँ भेटिएको र प्रहरीले बरामद गरेको उनको दाबी छ। तर, भिडियोमा भने उनले नै पेस्तोल लिएर धम्क्याएको देखिन्छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल भने आफूहरुको अनुसन्धानमा सो हतियार लामाकै भएको खुलेको दाबी गर्छन्। ‘लामाकै हातबाट प्रहरीले जबर्जस्ती पेस्तोल खोसेको थियो,’ पोखरेल भन्छन्, ‘त्यहाँ भेटिएको गोलीको खोका त्यही पेस्तोलबाट चलेको पुष्टि भइसकेको छ।’

 

को थिए आक्रमणकारी ? 

लामामाथि गोली हान्न खोज्ने व्यक्ति को थिए भन्ने अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। लामाले आफूले पनि ती व्यक्तिलाई नचिनेको बताएका छन्। प्रहरी स्रोतका अनुसार आक्रमणकारीको हुलिया निर्माण व्यवसायी शरद गौचन हत्याका फरार अभियुक्त रोशन बुढाथोकीसँग मिल्दोजुल्दो छ। बुढाथोकी गुन्डा नाइके समिरमानसिंह बस्नेतका प्रमुख सहयोगी हुन्। सो समूह र लामा समूहबीच पहिलेदेखि नै दुस्मनी रहँदै आएको छ।

 

मुद्दा बुझाउने तयारी 

सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी पोखरेलले बताए। मुद्दा बुझाउने तयारीमा रहेको उनले बताए। हातहतियार सम्बन्धी मुद्दा सिडिओ कार्यालयमा दर्ता हुन्छ। जसमा एक वर्षमम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

नेपाललाइभ डटकमबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*