हेटौडाको मुख्य सडक सिमाभित्र बनेका घर टहरा हटाउन डिभिजन सडक कार्यालयको अनुरोध

हेटौडाको मुख्य सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन डिभिजन सडक कार्यालय हेटौंडाले फेरि सूचना निकालेको छ । सोमबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा घर टहरा हटाउन भन्दै डिभिजन सडक कार्यालय हेटौंडाले सूचना निकालेको हो ।
डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँका संरचना यथासक्के छिटो हटाउन अनुरोध गरिएको छ । अन्यथा सडक ऐन बमोजिम कारवाही हुने सूचनामा लेखिएको छ ।
यसअघि डिभिजन सडक कार्यालय हेटौंडाले सडकको दायाँबायाँको २५÷२५ मिटर भत्काउने कार्य सुरु गरेको भएपनि अदालतमा मुद्धा परेपछि रोकिएको थियो । सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीसंग बुझ्दा नियमित प्रकृया अनुसार सूचना जारी भएको बताउनुभयो । सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने काम सडकको कार्यक्षेत्र भित्रको काम भएको भन्दै उहँँले अदालतमा मुद्धा बिचाराधिन रहेका कारण काम रोकिएको जानकारी दिनुभयो ।
यसअघि मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले हेटौंडाको सडक विस्तार गरे मात्र हेटौंडाको भविश्य उज्वल हुने भन्दै सडक फराकिलो पार्ने अभियानलाई तिब्रता दिनु भएको थियो । तर, बीचमा उहाँको सरुवासंगै सडक फराकिलो पार्ने काम पनि रोकिएको थियो ।