भूकम्पबाट प्रभावित गुम्बा विहारको संरक्षण, जिर्णेद्वार तथा पूननिर्माण कार्यमा सहयोग पुराउने ४ पत्रकार सम्मानित

छहारी संवाददाता
अशोज २७, २०७४

हेटौँडा उपमहानगरपालिकाको सानोपोखरा बेलडाँडास्थित जिक्तेन शिवा छेथारलिङ गुम्बामा गुम्बा विहार पुननिर्माण समितिको बृहत भेला सम्पन्न भएको छ । भेलामा भूकम्पबाट प्रभावित गुम्बा विहारहरुको संरक्षण, जिर्णेद्वार तथा पूननिर्माण सम्बन्धी कार्यक्रमहरुमा सहयोग पुराएको भन्दै मकवानपुरका ४ तामाङ पत्रकारहरुलाई सम्मान समेत गरिएको छ ।
समितिले रेडियो थाहासंचारकी दुदुमाया सिन्तान, ताम्सालिङ काअी साप्ताहिकका प्रकाशक सम्पादक नवराज वाईबा, तु खबर डटमका कार्यकारी सम्पादक चन्द्र घलान र रेडियो ताम्सालिङका संचालक दिलबहादुर लामा तामाङलाई सम्मान गरेको हो ।
देशका २५ जिल्लाहरुमा गठित भूकम्प प्रभावित गुम्बा बिहार संघर्ष समितिको आन्दोलन भदौ २५ गते आईतबार वार्ता मार्फत सकिएपछि विघटित भएको संघर्ष समितिलाई महासंघको रुपमा लाने योजना अनुसार भेला भएको हो । भेलाले मकवानपुर जिल्लामा महासंघ तदर्थ समितिका लागि २१ जना सदस्यको समेत टुङ्गो लगाएको छ ।
भेलामा मकवानपुर, बारा,  पर्सा, रौतहट, चितवन र गोर्खाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलाले वार्तामा सहमति भए अनुरुप गुम्बा विहार प्रभावित २५ वटै जिल्लामा नेपाल बौद्ध धर्म गुम्बा बिहार एकता महासंघ गठन गर्ने र केन्द्रीय स्तरमा एउटा महासंघ दर्ता गर्ने बारे पनि छलफल गरिएको थियो ।
भेलामा पूननिर्माण केन्द्रीय संघर्ष समितिका उपसंयोजक एवं कार्यक्रमका प्रमुख अतिथि शुक्र लामाले समितिको बिगतका संघर्ष र भावी योजनाका बारेमा प्रष्ट्याएका थिए । उनले प्रत्येक जिल्लाका गाउँपालिका र नगरहरुमा गुम्बा निर्माण तथा लामा विद्यार्थी उत्पादन गर्ने लगायतका योजनाहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै तराई क्षेत्रबाट सहभागीहरुले तराई क्षेत्रमा समेत गुम्बा तथा बौद्धधर्मालम्बीहरु भएकाले केन्द्रबाट समेत बौद्ध धर्मको विकास र गुम्बा निर्माणको कार्यमा सहयोग गर्न आग्रह गरेका थिए ।
त्यस्तै मकवानपुर जिल्ला संयोजक तथा कार्यक्रमका अध्यक्ष निरु थिङ, केन्द्रीय समिति कोषाध्यक्ष फुरी शेर्पा, सहकोषाध्यक्ष यममाया मोक्तान, सहसचिव दिपक दोर्जे लामा, तामाङ उत्थान समाज छतिवन मकवानपुरका अध्यक्ष रामबहादुर थिङ, केन्द्रीय सदस्य सोमलाल गोले, मकवानपुर समितिका सहसंयोजक लरिन दोर्जे लामा, सचिव अस्मिता वाईबा लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै जिल्लागत रुपमा गोर्खाका विष्णु थापा मगर, चितवनका रामबहादुर लामा, बाराका पदमबहादुर लामा, रौतहटका इमलाल गोले, मकवानपुरका लिलाबहादुर घलान, पर्साका रामबहादुर लामा लगायतले मन्तव्य राखेका थिए ।
२०७२ साल बैशाख १२ र २९ गतेको महा बिनाशकारी भूकम्पपछि धरासयी भएका गुम्बा तथा बिहारको पूनर्निमाणमा संवन्धित निकायले कार्यविधि नै परिवर्तन गरेर तोकिएको बजेट समेत नदिएपछि देशभर संघर्ष समिति मार्फत आन्दोलन भएको थियो । जुन गत भदौ २५ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्प प्रभावित गुम्बा बिहार संघर्ष समितिबिच केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालय ज्वागल ललितपुरमा ६ बुँदे सहमति भएपछि आन्दोलन सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*