हातिको कथा र मानव जीवन एक मनोवैज्ञानिक अवधारणा
वि.सं. २०६१ सालतिरको कुरा हो। म एउटा क्षमता अभिवृद्धि तालिममा सहभागी भएको थिएँ। तालिमका क्रममा सहजकर्ताले हातिको एउटा कथा सुनाउनु भयो।
एउटा यस्तो कथा, जसले मेरो सोच्ने तरिकालाई सदाका लागि बदलिदियो।म खोटाङको दुर्गम गाउँमा जन्मिएको मान्छे, तराईमा झरेपछि मात्र हातिलाई प्रत्येक्ष देखेँ।
नेपालमा हातिहरूलाई परम्परागत रूपमा भारी सामान बोक्न, जंगल सफारी गर्न, प्रयोग गरिँदै आएको छ। तर एउटा प्रश्नले मलाई त्यतिबेला निकै सोच्न बाध्य बनायो । हजारौँ किलो तौल भएको वयस्क हातिलाई सानो डोरीले कसरी बाँधेर राख्न सकिन्छ ?
सहजकर्ताले यसको रोचक कथा सुनाउनुभयो।
सानो हातिलाई सुरुमा बलियो खम्बामा डोरीले बाँधिन्छ। हातिले आफूलाई बाँधिएको डोरी चुँडाउने अथक प्रयास गर्छ। तान्छ, संघर्ष गर्छ, बल लगाउँछ, तर सफल हुँदैन। पटक-पटकको असफलतापछि उसको मनमा एउटा विश्वास गहिरिँदै जान्छ । “यो डोरी म तोड्न सक्दिनँ।”
समय बित्दै जान्छ। हाति ठूलो र शक्तिशाली हुन्छ। उसको शारीरिक क्षमता हजारौँ गुणाले बढिसकेको हुन्छ। तर वयस्क भएपछि पनि त्यही हातिलाई सामान्य डोरीले बाँधिन्छ। ऊ डोरी चुँडाउने प्रयास गर्दैन, किनभने उसको शरीरभन्दा पहिले उसको मन बाँधिइ सकेको हुन्छ।
त्यो दिन सहजकर्ताले भन्नुभएको एउटा वाक्य मेरो मनमा गहिरो गरी बस्यो । —हातिलाई बाँध्ने डोरीभन्दा शक्तिशाली उसको आफ्नै विश्वास हो।
म गहिरो सोचमा डुबें।
मार्टिन सेलिग्म्यानले सन् १९६०मा प्रस्तुत गरेको अभ्यस्त असहायता सिद्धान्तले देखाउँछ कि असफलता बारम्बार अनुभव गर्दा मानिसले प्रयास नै नगर्ने हुन्छ भनि सहजकर्ताले प्रस्तुत गर्नु भयो।
त्यसपछि मेरो मनमा एउटा प्रश्न उठ्यो, के हामी पनि यस्तै अदृश्य डोरीहरूले बाँधिएका छैनौँ ?
परिवार, समाज, संस्कार, परम्परा, आर्थिक अवस्था र अरूका अपेक्षाले हाम्रो सोच र सम्भावनालाई सीमित गरिरहेका हुन सक्छन्। “म सक्दिनँ”, “यो मेरो लागि होइन”, “मेरो परिवारले के भन्छ”, “हामीजस्ता मानिसले कहाँ गर्न यस्तो काम गर्ने हो र ?” जस्ता धारणाहरूले हाम्रो क्षमतालाई हामीले आफैँ भन्दा पहिले सीमित गरि दिन्छन्।
तर मानिसको क्षमता स्थिर हुँदैन। सीपले सम्भावनाको नयाँ ढोका खोल्छ।
कुनै पनि व्यक्तिको जीवनमा उसले आर्जन गरेको सीप प्रगति, आत्मनिर्भरता र सम्भावनाको महत्वपूर्ण आधार हो। सीपयुक्त व्यक्तिले आफ्नो जीवनस्तर सुधार गर्नुका साथै परिवार, समुदाय र समाजको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
दक्ष र सीपयुक्त जनशक्तिको उत्पादन तथा परिचालनले रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउँछ। त्यसैले सीपयुक्त श्रम केवल रोजगारी प्राप्त गर्ने माध्यम मात्र होइन । यो आत्मनिर्भरता, सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको आधार पनि हो।
सीपले मानिसलाई केवल काम गर्न सक्षम बनाउँदैन । यसले सोच्ने तरिका पनि परिवर्तन गर्छ। सीपले आत्मविश्वास बढाउँछ, श्रमप्रतिको सम्मान विकास गर्छ, नयाँ सम्भावना देख्न सिकाउँछ र उद्यमशीलताको भावना जगाउँछ। एउटा सीपले व्यक्तिको हातमा रोजगारी मात्र होइन, आफ्नो भविष्य निर्माण गर्ने क्षमता पनि दिन सक्छ।
त्यसैले आज पनि मलाई त्यो हातिको कथा सम्झना हुन्छ।
हातिको वास्तविक शक्ति उसको शरीरमा थियो, तर उसको सीमितता उसको मनमा थियो। हाम्रो जीवनमा पनि यस्ता धेरै “डोरीहरू” हुन सक्छन्— डरका डोरी, असफलताका डोरी, सामाजिक धारणाका डोरी, अवसरको अभावका डोरी र आफूलाई कमजोर ठान्ने मानसिकताका डोरी।
परिवर्तन त्यहीँबाट सुरु हुन्छ, जहाँ हामी आफूलाई बाँधिरहेका अदृश्य डोरीहरूलाई पहिचान गर्छौँ। जब हामी “म सक्दिनँ” भन्ने विश्वासलाई “म प्रयास गर्छु” मा बदल्छौँ, तब सम्भावनाका ढोकाहरू खुल्न थाल्छन्। जब हामी सीप सिक्छौँ, आफ्नो क्षमतामा विश्वास गर्छौँ र निरन्तर प्रयास गर्छौँ, तब वर्षौँदेखि बाँधिएका मानसिक डोरीहरू एक-एक गर्दै चुँडिन थाल्छन्।
श्रम गर्न लाज मान्ने मानसिकता पनि मानिसलाई पछाडि पार्ने एउटा अदृश्य डोरी हो। अब हामीले श्रमलाई सानो ठुलो भनेर विभाजन नगरी हरेक श्रमको सम्मान गर्नुपर्छ। “सीप सिकौँ, श्रमको सम्मान गरौँ, बेरोजगारीका अदृश्य डोरीहरू तोडौँ” ।





