दाउरेको कथा

सत्यता, धैर्य र निरन्तर श्रमले अन्ततः जीवनलाई उज्यालो बनाउँछ ।
राम प्रसाद सापकोटा
साउन २३, २०८३

एका देशमा एउटा दाउरे थियो । उसले हरेक दिन बिहानै उठ्थ्यो, बन्चरो काँधमा बोकेर जंगलतिर लाग्थ्यो । दाउरा काटेर बजारमा बेच्ने काम नै उसको जीवनको आधार थियो ।

तर एक दिन ऊ थाक्यो, मनमा प्रश्न उठ्यो “के मेरो जीवन सधैं यही हो त? दाउरा काट्ने, बेच्ने अनि गुजारा गर्ने मात्र?”

उसले श्रीमतीलाई भन्यो । श्रीमती समझदार थिइन् । उनले मुस्कुराउँदै उत्तर दिइन् “हेर, कर्म नै जीवनको आधार हो । कर्म नगरी सुख पाइँदैन । हाम्रो जीवन सधैं सजिलो नहोला, तर कर्मले नै हामीलाई सम्मान र अस्तित्व दिन्छ ।”

श्रीमतीको वचनले दाउरेको मन हल्का भयो । ऊ फेरि उत्साहित भयो । भोलिपल्ट बिहानै ऊ उठ्यो, बन्चरो काँधमा बोकेर जंगलतिर लाग्यो ।

जंगलमा पुगेपछि उसले देख्यो सूर्यको किरण पातमा झल्किरहेको छ, चराहरू चहकिरहेका छन् । त्यो दिन उसलाई लाग्यो, “कर्म मात्र बोझ होइन, प्रकृतिसँगको संगत पनि हो ।”

एक दिन जंगलबाट फर्कंदै गर्दा उसको भेट राजासँग भयो । राजदरबारमा पुराणको आयोजना भइरहेको थियो । राजाले दाउरेलाई भने “यदि तिमी हरेक दिन दाउरा ल्याइदिने हो भने उचित द्रव्यको व्यवस्था गर्नेछु ।”

त्यस दिन राजाले दाउरेलाई दुईवटा सिक्का दिए । दाउरे खुशीले घर फर्कंदै थियो । बाटोमा खोला पार गर्दा उसलाई तिर्खा लाग्यो । पानी पिउँदा सर्टको गोजीमा राखेका सिक्का खोलामा खस्यो र हरायो ।

दाउरेले धेरै खोज्यो तर लेउले ढाकिएको कारण भेटाउन सकेन । निराश अनुहार लिएर घर फर्कियो । बुढीले सोधिन् “के भयो बुढा?” दाउरेले सबै कुरा विस्तारमा सुनायो ।

श्रीमतीले धैर्यपूर्वक भनिन् “हेर बुढा, हाम्रो कर्म यस्तै हो । भोलि फेरि जंगल जाउ, राजालाई भन । राजाले उपकार पक्कै गर्लान् ।”

भोलिपल्ट बिहानै दाउरे उठ्यो, बन्चरो बोकेर जंगल गयो । दाउरा काटेर राजाकोमा पुग्यो र सबै कुरा सुनायो । राजाले मुस्कुराउँदै भने “चिन्ता नगर दाउरे, आज म तिमीलाई सुनको सिक्री दिन्छु ।”

राजाले सुनको सिक्री दिए । दाउरे खुशीले घर फर्कियो ।

दाउरे राजाबाट सुनको सिक्री पाएर खुशीसाथ घर फर्कंदै थियो । बाटोमा खोला आयो । उसलाई हिजोको घटना सम्झियो “हिजो त मेरो सिक्का खोलाले खायो, आज पनि सुनको सिक्री हरायो भने के होला?”

त्यसैले उसले सिक्री निकालेर ढुङ्गामा एउटा पातमाथि राख्यो र पानी खान थाल्यो । तर त्यही बेला एउटा काग आयो, सिक्री चुच्चोमा लिएर उड्यो । दाउरेले हेरिरह्यो, दौडेर पछ्यायो पनि, तर काग त उडेर टाढा गयो ।

निराश हुँदै दाउरे घर फर्कियो । श्रीमतीले उसको अनुहार देखेर बुझिन् “आज पनि केही गडबड भयो ।” दाउरेले सबै कुरा सुनायो ।

श्रीमतीले फेरि धैर्यपूर्वक सम्झाइन् “हेर बुढा, हाम्रो जीवन कर्ममै अडिएको छ । भोलि फेरि जंगल जाउ, दाउरा काटेर राजालाई देउ । राजाले उपकार पक्कै गर्नेछन् ।”

भोलिपल्ट बिहानै दाउरे उठ्यो, बन्चरो बोकेर जंगल गयो ।

जंगलबाट दाउरा लिएर राजाकोमा गयो र राजालाई सबै व्यथा सुनायो ।

राजाले दाउरेलाई भने “चिन्ता नगर, आज म तिमीलाई १६ वटा सुनका टुक्रा सहित पटुकी दिन्छु ।”

राजाले पटुकी दाउरेको कम्मरमा बाँधिदिए । दाउरे खुशीसाथ घर फर्कंदै थियो । बाटोमा फेरि त्यही खोला आयो, जहाँ पहिले उसका सिक्का र सिक्री हराएका थिए ।

खोला देख्दा उसको मनमा रिस उठ्यो । तर यसपटक उसले सावधानीपूर्वक पानी पियो र दौडँदै घरतिर लाग्यो । उसको मनमा एउटा मात्र कुरा थियो “आज त खोलाले मेरो धन हराएन, अब म मेरी बुढीलाई खुशी बनाउँछु ।”

घर नजिक पुग्दा उसले श्रीमतीलाई बोलायो, तर आवाज आएन । पल्लो घरकी आमाले भनिन् “तिम्री बुढी घाँस काट्न गएकी छिन् ।”

दाउरेले पटुकी खोलेर १६ वटा सुनका टुक्रा अगेनुमा राख्यो, आगोले छोप्यो, अनि दौडँदै बारीतिर गयो । त्यहाँ उसले श्रीमतीलाई घाँसको भारी उचाल्न लागेको देख्यो ।

“बुढी!” भनेर बोल्दा श्रीमती अचम्ममा परिन् । दाउरेले उनलाई जुरुक्क उठाएर गालामा म्वाइँ खायो ।

श्रीमतीले मुस्कुराउँदै सोधिन् “के भयो बुढा, किन एति खुशी?”

दाउरेले सबै बेलिविस्तार सुनायो । श्रीमतीको अनुहारमा मुस्कान फैलियो । दाउरेले घाँसको भारी बोकेर श्रीमतीलाई अगाडि लगायो, अनि दुवै खुशीसाथ घर फर्किए ।

घर पुगेपछि दाउरेकी श्रीमतीले भनिन् “खै बुढा, देखाउ न त १६ वटा सुनका टुक्रा सहित पटुकी ।”

दाउरे घर भित्र पस्यो, अगेनो खोस्रियो । तर अगेनुमा एक टुक्रा पनि सुन थिएन । निराश हुँदै ऊ खरानीमा हेरिरह्यो, तर सुन फेला पारेन ।

दाउरे रुन्चे स्वरमा भन्यो “मैले तिमीलाई लिन जाँदा हराउला कि भनेर अगेनुमा राखेर खरानीले छोपेको थिएँ । तर अब त सब हरायो ।” दाउरे रुन थाल्यो ।

श्रीमतीलाई पनि नराम्रो लाग्यो । तर मनमा शंका जाग्यो । उनले भनिन् “बुढा, साँच्चै तिमी बिग्रिएको त हैन? आज तीन दिन भयो, कति ठूला कुरा गर्छौ तर हातमा केही परेको छैन ।”

बुढीको कुरा सुनेर दाउरे झन रुन थाल्यो ।

दाउरेको त्यस्तो हालत देखेर दाउरेको बुढीले दाउरे मायालु स्वरमा सम्झाउन थाली ।

श्रीमतीले नम्र स्वरमा भनिन् “हेर बुढा, हाम्रो भाग्यमा यस्तै लेखिएको रहेछ । भोलि बिहानै जंगल जाउ, दाउरा राजाकोमा लिएर जाउ अनि राजालाई सबै कुरा भन । पक्कै राजाले केही उपाय लगाउनेछन् ।”

श्रीमतीको मायालु वचनले दाउरेको मन फेरि हल्का भयो । भोलिपल्ट बिहानै ऊ उठ्यो, बन्चरो काँधमा बोकेर जंगल गयो । दाउरा काटेर राजाकोमा पुग्यो र सबै कुरा विस्तारमा सुनायो कसरी सिक्का खोला खायो, कसरी सिक्री कागले उडायो, अनि कसरी पटुकीमा राखेको सुन खरानीमै हरायो ।

राजाले दाउरेको सत्यता र इमानदारी देखे । राजा केही क्षण मौन भए, अनि मुस्कुराउँदै भने “दाउरे, तिमीले बारम्बार गुमाए पनि सत्य बोल्यौ, कर्म छोडेनौ । यही त ठूलो धन हो । आज म तिमीलाई अझ ठूलो उपहार दिनेछु ।”

राजाको उदारताले दाउरेको घाउमा मलम लगाएको जस्तै भयो । राजाले चार जना ढाक्रे पठाएर दाल, चामल लगायत एक वर्ष पुग्ने खाद्यान्न दाउरेको घरमा पुर्‍याउन निर्देशन दिए ।

चारै जना ढाक्रे अगाडि लगाएर दाउरे घरतिर लाग्यो । बाटोमा फेरि खोला आयो । दाउरेले विगतमा खोलाले गरेको क्षति सम्झेर ढाक्रेलाई सावधान रहन भन्यो । सबैजना सावधानीपूर्वक पानी पिएर अघि बढे ।

खोलाको किनारमा माछा बेचिरहेको माझी देखियो । दाउरेले दुईवटा ठूला माछा किन्यो “आज घरमा माछा भात खानेछु, श्रीमतीलाई खुशी पार्नेछु” भन्ने सोच्दै ।

घर पुगेपछि खाद्यान्न देखेर श्रीमती खुशी भइन् । दाउरेले भने “तिमी माछा बनाउ, म दाउरा काटेर ल्याउँछु ।” उसले घर छेउको सुकेको रुखमा बन्चरो हान्यो ।

दुई पटक जोडले हानेपछि छिन्द्रिङ आवाज आयो । हेरेको त के त्यो रुखमा कागले बनाएको गुडमा राजाले दिएको सुनको सिक्री पो थियो ! कागले लगेर त्यही राखेको रहेछ ।

दाउरेले कागलाई गाली गर्न थाल्यो “त फटाहा, मेरो सुनको सिक्री चोरेर यहाँ राखिस् ।”

त्यो बेला छिमेकी आमा त्यहाँ आइन् । उनले भनिन् “दाउरे, म तेरो घरमा आगो लिन गएको थिएँ । आगाको भुङ्ग्रो जस्तो लागेर लिएर आएँ, तर घरमा फुक्दा बल्दैनथ्यो । आगो नभएर सुनका डल्ला रहेछन् । मैले केही गरेको छैन, ल लैजा १६ वटा सुनका टुक्रा । मलाई गाली नगर है ।”

दाउरेले गद्गद हुँदै श्रीमतीलाई भन्यो “हेर बुढी, मैले दोस्रो र तेस्रो दिन राजाले दिएको सुन भेटेँ ।”

श्रीमती पनि खुशी हुँदै उत्तर दिइन् “हो त नि बुढा, राजाले पहिलो दिन दिएको दुईवटा सुनका सिक्का त माछाले पो खाएको रहेछ । मैले माछा पकाउँदा दुवै भेटे ।”

यसरी दाउरेले हराएका सबै धन फेला पायो पहिलो दिनका सिक्का, दोस्रो दिनको सिक्री, र तेस्रो दिनका सुनका टुक्रा । श्रीमतीको मायालु समर्थन र राजाको उदारताले दाउरेको जीवनमा फेरि उज्यालो ल्यायो ।

त्यसैले जीवनमा धैर्यताका साथ काम गर्नुपर्छ । कर्म निरन्तर गरिरहनुपर्छ । कर्म मात्र हाम्रो बसमा हुन्छ, तर परिणाम सधैं हाम्रो पक्षमा नहुन सक्छ ।

तर सत्यता, धैर्य र निरन्तर श्रमले अन्ततः जीवनलाई उज्यालो बनाउँछ । कर्म निरन्तर गरिरहनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*