अनलाइन मार्फत् उद्योग दर्ता प्रक्रिया पूर्णरुपमा सञ्चालन
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरले उद्योग दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन मार्फत सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीलाई कार्यालय धाइरहनुपर्ने बाध्यता अन्त्य गर्दै घरबाटै उद्योग दर्ता गर्न सकिने व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ । कार्यालयले २०८३ असार ३२ गतेदेखि अनलाइन सेवा सुरु गरेको हो ।
कार्यालय प्रमुख रामप्रसाद भुसालका अनुसार सेवा सुरु भएको दिनदेखि शुक्रबार सम्म २९ वटा उद्योग अनलाइनमार्फत दर्ता भएका छन् । उद्योग दर्ताका लागि आवश्यक वडा वा गाउँपालिकाको सिफारिस, जग्गाधनी प्रमाणपूर्जा, सर्जमिन मुचुल्कालगायतका कागजात सेवाग्राहीले स्क्यान गरी सफ्टवेयरमार्फत कार्यालयमा पठाउन सक्छन् ।
कार्यालयले ती कागजातको परीक्षण गरेपछि अपुग कागजात भए सेवाग्राहीलाई जानकारी गराइन्छ । सबै प्रक्रिया पूरा भएपछि अनलाइनमार्फत राजस्व भुक्तानी गरी दर्ता प्रमाणपत्रसमेत प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको कार्यालय प्रमुख भुषालले बताउनुभयो ।
कार्यालयमा आएका, प्रविधिमा पहुँच नभएका सेवाग्राहीलाई कार्यालयमै सहजीकरण गरिँदै आएको कार्यालयका सहायक कम्प्युटर अपरेटर बरुण घिमिरेले बताउनुभयो ।
सेवाग्राहीले industry.bagamati.gov.np मा गई नयाँ उद्योग दर्ताका लागि प्रयोगकर्ता (यूजर) आईडी सिर्जना गर्नुपर्नेछ । त्यसपछि उद्योगसम्बन्धी विवरण भरेर आवश्यक कागजात अपलोड गरी अनलाइनमार्फत निवेदन पेस गर्न सकिनेछ ।
कार्यालयबाट कागजात प्रमाणीकरण भएपछि क्यूआर कोडमार्फत राजस्व भुक्तानी गरी दर्ता प्रक्रिया पूरा हुनेछ । घिमिरेले अनलाइन प्रणाली प्रयोग गर्ने तरिकाबारे कार्यालयको फेसबुक पेजमार्फत छिट्टै भिडियो सामग्री सार्वजनिक गरिने जानकारी दिनुभयो ।
हाल उद्योग दर्ताको सेवा मात्रै अनलाइनमा उपलब्ध भए पनि आगामी भदौ १ गतेदेखि उद्योग नवीकरण, पुँजी वृद्धि, स्थानान्तरण, नाम परिवर्तनलगायतका सेवा पनि क्रमशः अनलाइनमा विस्तार गरिने तयारी गरिएको छ ।
उद्योगसम्बन्धी सबै सेवा दशैँसम्म घरबाटै लिन सकिने गरी प्रणाली विकास भइरहेको उल्लेख गर्दै यसबाट सेवाग्राहीको समय, खर्च र कार्यालय धाउनुपर्ने झन्झटमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयमध्ये मकवानपुर कार्यालयले उद्योग पर्यटन,श्रम तथा यातायात मन्त्रालयको समन्वय तथा आफ्नै पहलमा उद्योग दर्ताको अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।







