हेटौंडामा निकालिएको सद्भाव र्याली (तस्वीरहरु)

छहारी संवाददाता
साउन १६, २०८३

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा साम्प्रदायिक एकता सुदृढ गर्ने उद्देश्यले शनिबार बागमती प्रदेशको राजधानी हेटौँडामा वृहत् सद्भाव र्यालीको आयोजना गरिएको छ ।

सर्वधर्म समाज नेपालको समन्वय तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न धर्म, समुदाय र क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

पछिल्लो समय देशका केही स्थानमा भएका साम्प्रदायिक तनावका घटनापछि समाजमा आपसी विश्वास, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा जनप्रतिनिधि, विभिन्न धार्मिक संघसंस्था, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, विद्यार्थी, युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

हेटौँडा–४ स्थित हुप्रचौरबाट सुरु भएको र्याली शीतलमहलचोक, कपुर कम्प्लेक्स, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै हेटौँडा–२ स्थित सङ्गमचोकमा पुगेर सद्भाव सभामा परिणत भएको थियो । र्यालीका क्रममा सहभागीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको पक्षमा विभिन्न सन्देशमूलक नारा लगाएका थिए ।

“हिमाल, पहाड, तराई कोही छैन पराई”, “नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे”, “सबै नेपाली एक हौँ”, “हातेमालो गरौँ, सद्भाव बढाऔँ” लगायतका नाराले हेटौँडाको मुख्य बजार क्षेत्र गुन्जायमान बनेको थियो । सहभागीहरूले विविधताबीचको एकतालाई नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न सबै नागरिक सचेत हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सङ्गमचोकमा आयोजित सद्भाव सभाको प्रारम्भमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएका घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा ती घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको थियो ।

सभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नेपालको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समाजको आधार भएको बताउनुभयो । उहाँले कुनै पनि प्रकारका अफवाह, घृणा वा उक्साहटपूर्ण गतिविधिले सामाजिक सम्बन्धमा असर पार्न सक्ने भएकाले सबै नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह गर्नुभयो ।

उहाँले समाजमा आपसी विश्वास, सम्मान, सहकार्य र सहअस्तित्वको वातावरण कायम राख्न प्रशासन मात्र नभई राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र आमनागरिक सबैको समान भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीले यस्ता सद्भाव र्याली तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*