खरायो र कछुवाको कथा: दौडको नयाँ र फरक अध्याय
म स्कुलमा पढ्दा हाम्रा गुरुले हामीलाई खरायो र कछुवाको एउटा रोचक कथा सुनाउनुभएको थियो। त्यतिबेला म १० वर्षभन्दा कम उमेरको थिएँ। बालमनका लागि त्यो कथा पनि अरू सामान्य कथाजस्तै लागेको थियो।
कथा सुनिसकेपछि त्यसको गहिरो अर्थबारे मैले खासै सोचिनँ। तर समय बित्दै गयो, जीवनका अनेकौँ उतारचढाव र मोडहरू पार गर्दै गएँ। आज, चार दशकभन्दा बढी समयपछि फर्केर हेर्दा महसुस गर्दैछु—बाल्यकालमा सामान्यजस्तो लागेर सुनेको त्यो कथा वास्तवमा मेरो जीवनसँगै यात्रा गरिरहेको रहेछ।
जीवनका विभिन्न चरणमा मैले भोगेका अनुभव, सफलता, असफलता, संघर्ष र सहकार्यका घटनाहरूले मलाई त्यही कथाका नयाँ-नयाँ अर्थ बुझाउँदै गए। त्यसैले यहाँ म गुरुले सुनाउनुभएको मूल कथालाई मात्र दोहोर्याइरहेको छैन; मेरो जीवनमा आएका विभिन्न मोडहरूले खरायो र कछुवाको कथामा थपिदिएका केही नयाँ एपिसोड र त्यसबाट मैले सिकेका जीवनका पाठहरू प्रस्तुत गर्दैछु। बाल्यकालमा एउटा साधारण कथा लागेको खरायो र कछुवाको दौड आज मेरो जीवनको ऐना बनेको छ —जहाँ हरेक नयाँ मोडले कथाको नयाँ अध्याय र नयाँ अर्ति थप्दै गएको छ।
एकादेशमा हरियालीले भरिएको वनमा एउटा खरायो र एउटा कछुवा बस्दथे। एक दिन उनीहरूबीच संसारमा सबभन्दा छिटो दगुर्ने प्राणी को हो भन्ने विषयमा विवाद उत्पन्न भयो।
खरायोले गर्वका साथ भन्यो— “संसारमा सबभन्दा छिटो दगुर्ने प्राणी त म नै हुँ।”
कछुवाले शान्त र धैर्यपूर्ण स्वरमा उत्तर दियो— “गति मात्र होइन, निरन्तरता पनि महत्त्वपूर्ण हुन्छ। म पनि आफ्नो धैर्यले जित्न सक्छु।”
त्यसपछि दौड प्रतियोगिता आयोजना गरियो। प्रारम्भमा खरायो तीव्र गतिमा अघि बढ्यो। तर कछुवालाई टाढा देखेर उसले आत्मविश्वासलाई घमण्डमा परिणत गर्यो र आराम गर्न रुखमुनि बस्यो। निद्रामा गहिरिएर खरायो ढिलो भयो।
यसैबीच, कछुवा निरन्तर, दृढ र अडिग भएर अघि बढिरह्यो। अन्ततः ऊ लक्ष्यबिन्दुमा खरायोभन्दा पहिले पुग्यो।
जब खरायो ब्युँझ्यो, उसले देख्यो कि धैर्यवान कछुवाले दौड जितिसकेको छ।
“जीवनमा सफलता प्राप्त गर्न तीव्र गतिभन्दा पनि निरन्तरता, धैर्य र दृढता अपरिहार्य हुन्छ। सुस्तरी तर निरन्तर रूपमा लागिपर्नेले अन्ततः आफ्नो लक्ष्य हासिल गर्छ।” भनेर हामीलाई विद्यालयका गुरुले सिकाउनुभएको थियो।
तर, यो मेरो कथाको अन्त्य होइन… यो त अझै बाँकी रहेको एउटा सुन्दर यात्राको सुरुवात मात्र रहेछ ।
दौड हारेर खरायो लाजले भुतुक्क भयो। तर ऊ निराश भएन। बरु उसले आत्मचिन्तन गर्यो—“मैले किन हारेँ?” उसले बुझ्यो कि अति आत्मविश्वास र घमण्ड नै हारको कारण बने। त्यसपछि खरायोले कछुवालाई फेरि दौडमा आउन आग्रह गर्यो। यस पटक ऊ अनुशासित रह्यो, कतै रोकिएन, र अन्ततः सजिलै जित्यो।
“छिटो र निरन्तर रूपमा लागिपर्नेले सुस्तरी तर निरन्तर रूपमा लागिपर्नेलाई पछि पार्छ। सुस्तरी भए पनि निरन्तर रूपमा लागिपर्नु राम्रो हो; तर छिटो, दृढ र निरन्तर रूपमा अघि बढिरहनु अझ राम्रो हो। किनकि सफलताको यात्रामा निरन्तरता आवश्यक छ, तर सही गति र दृढ संकल्पले सफलतालाई अझ नजिक ल्याउँछ।”
यो कुरा मैले जीवनका ३५ वटा वसन्त पार गरेपछि मात्र गहिरो रूपमा बुझेँ। समय बित्दै जाँदा अनुभवले मलाई सिकायो —केवल निरन्तर प्रयास गरिरहनु मात्र पर्याप्त हुँदैन रहेछ। सही दिशा, सही गति, दृढ संकल्प र समयको सदुपयोग गर्दै निरन्तर अघि बढ्नु नै सफलताको वास्तविक सूत्र रहेछ।
बाल्यकालमा सुनेको खरायो र कछुवाको कथाले मलाई “सुस्तरी भए पनि निरन्तर लागिपर्यो भने जित्न सकिन्छ” भन्ने पाठ सिकाएको थियो। तर जीवनका ३५ वटा वसन्त पार गरेपछि मैले त्यस कथामा अर्को अर्थ भेट्टाएँ—निरन्तरता आवश्यक छ, तर निरन्तरतासँगै गति, दिशा र दृढता जोडियो भने यात्राको परिणाम अझ प्रभावकारी हुन्छ।
त्यसपछि मेरो मनमा एउटा नयाँ प्रश्न जन्मियो—यदि कछुवाले आफ्नो निरन्तरताबाट खरायोलाई हराउन सक्छ भने, खरायोले आफ्नो गति र निरन्तरताको सही संयोजन गर्यो भने के होला?
यही प्रश्नबाट मेरो जीवनको खरायो–कछुवा कथामा अर्को नयाँ एपिसोड थपियो।
तर, यो पनि मेरो कथाको अन्त्य होइन…
यो त हाम्रो यात्राको अर्को एउटा मोड मात्र हो। कथा अझै बाँकी छ, यात्रा अझै जारी छ, र गन्तव्यले मलाई अझै पर्खिरहेको छ।
यसपटक सोचविचार गर्ने पालो कछुवाको थियो र उसले एकिन गर्यो कि यस्तो खालको दौडमा उसले कुनैपनि हालतमा खरायोलाई जित्न सक्दैन ।
मैले खरायोलाई कसरि हराउने होला ?
कछुवाले निक्कै सोचविचार गर्यो र अर्को दौडको लागि खरायोलाई चुनौति दियो । तर अहिलेको दौड पहिले दौडेको रुट भन्दा बेग्लै रुटमा गर्ने निश्चित भयो । यसमा खरायो पनि राजी भयो ।
कछुवा: हामी फेरि दौड लगाउने ? तर यसपटक पहिलेको भन्दा बेग्लै रुटमा दौडने नि ।
खरायो: ओके ओके ।
दौडको शुरुआत भयो । विश्व किर्तिमान कायम गर्न पाउने जोशमा खरायो कछुवालाई निक्कै पछाडि पारेर पहिलोको भन्दा छिटो गतिमा दौड्दै गयो र अचानक एक ठाउँमा पुगेर टक्क अडिनु पर्यो । किनभने अगाडि एउटा चौडा खोला थियो र दौडको अन्तिम बिन्दु खोला पारी थियो ।
खरायो त्यही खोला किनारमा बसेर खोला कसरि तर्ने होला भन्दै विचार गर्दै बस्यो । त्यतिन्जेल कछुवा पनि हस्याङ्ग फस्याङ्ग गर्दै त्यहि आइपुग्यो । कछुवा खोलामा पस्यो र पौडेर सजिलै अर्को किनारमा निक्ल्यो । यसपटकको दौड फेरि कछुवाले जित्यो ।
खरायो: मैले के गर्ने होला ?
“आफ्नो उत्तरोत्तर प्रगति चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो क्षमता पहिचान गर्नुहोस्। त्यसपछि आफ्नो क्षमता, रुचि र दक्षतालाई सुहाउँदो कार्यक्षेत्र (खेलको मैदान) छनोट गर्नुहोस्। किनकि सफल हुनका लागि अरूलाई पछ्याउनु मात्र पर्याप्त हुँदैन; आफू कुन क्षेत्रमा सक्षम छौँ भन्ने पहिचान गरी त्यही क्षेत्रमा आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनु नै सफलताको महत्वपूर्ण आधार हो।”
यो कुरा मैले जीवनका ४० वटा वसन्त पार गरेपछि मात्र गहिरो रूपमा बुझेँ। जीवनको लामो यात्रापछि बल्ल महसुस भयो—अरूले रोजेको बाटोमा दौडिनुभन्दा आफ्नै क्षमता, रुचि र दक्षता पहिचान गरेर आफूलाई सुहाउने बाटो रोज्नु नै वास्तविक प्रगतिको आधार रहेछ। हरेक व्यक्तिको आफ्नै क्षमता, रुचि र विशेषता हुन्छ; तर त्यसलाई सही समयमा पहिचान गरी सही ठाउँमा प्रयोग गर्न सक्नु अझ महत्वपूर्ण रहेछ।
सायद यही कारणले खरायो र कछुवाको कथाले मेरो जीवनमा अर्को नयाँ मोड लियो। बाल्यकालमा कछुवाले खरायोलाई उसको गतिमा हराएको कथा सुनेको थिएँ। तर जीवनले मलाई पछि सिकायो—सबै दौड एउटै मैदानमा हुँदैनन्, र सबैको क्षमता पनि एउटै हुँदैन। आफूलाई सुहाउने मैदान पहिचान गर्न सक्नु र त्यही मैदानमा आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्नु पनि सफलताको एउटा महत्वपूर्ण रहस्य रहेछ।
तर, मेरो कथा अझै सकिएको छैन………….
किनकि हरेक हारले एउटा नयाँ पाठ सिकाउँछ, र हरेक पाठले अर्को जितको बाटो देखाउँछ।
यतिन्जेलसम्ममा खरायो र कछुवा एकअर्काका असल साथी बनिसकेका थिए। अब उनीहरू एकअर्कालाई हराउने होइन, बरु सँगै बसेर सफल हुने उपायबारे सोच्न थाले।
दुवैले विगतका दौडहरूबाट एउटा महत्वपूर्ण कुरा सिकिसकेका थिए—एक्लै सबै कुरा गर्न सकिँदैन, तर एकअर्काको क्षमता पहिचान गरी सहयोग गर्ने हो भने असम्भवजस्तो लाग्ने काम पनि सहज बन्न सक्छ। अबको दौडमा कसैले हार्नु नपरोस् र दुवै सँगै जितौँ भन्ने कुरामा उनीहरू सहमत भए।
फेरि एकपटक दौडने निर्णय भयो। तर यसपटक उनीहरू एक्लाएक्लै प्रतिस्पर्धा गर्ने होइन, एउटै टोली बनेर दौडने निश्चय गरे।
खरायो: फेरि दौडौँ न त, यार! तिम्रो के विचार छ?
कछुवा: ठिकै छ नि! यसपटक हामी एकअर्कालाई सहयोग गरौँ। त्यसो गर्यौँ भने हामी दुवैले निराश हुनुपर्ने छैन।
दौड सुरु भयो।
यसपटक खोलाको किनारसम्म पुग्ने जिम्मेवारी खरायोले लियो। उसले कछुवालाई आफ्नो पिठ्युँमा बोकेर तीव्र गतिमा दौडियो।
खोलाको किनारमा पुगेपछि कछुवाको पालो आयो। कछुवाले खरायोलाई आफ्नो पिठ्युँमा राख्यो र दुवै मिलेर सजिलै खोला तरे।
खोलाको अर्को किनारमा पुगेपछि खरायोले फेरि कछुवालाई बोकेर दौडियो।
अन्ततः दुवैजना एकैसाथ दौडको अन्तिम बिन्दुमा पुगे।
यसपटक न खरायोले कछुवालाई हरायो, न कछुवाले खरायोलाई। दुवै विजयी भए। खरायो र कछुवा एकअर्कालाई हेरेर मुस्कुराए। उनीहरू अत्यन्त खुसी थिए।
उनीहरूले बुझे—
“एकअर्कालाई हराएर प्राप्त हुने जितभन्दा, एकअर्कालाई साथ दिएर प्राप्त हुने जित धेरै ठूलो र अर्थपूर्ण हुँदो रहेछ।”
व्यक्तिगत रूपमा प्रतिभाशाली र क्षमतावान बन्नु अत्यन्त राम्रो कुरा हो। तर जीवनले मलाई सिकायो—व्यक्तिगत प्रतिभा र क्षमता मात्र पर्याप्त हुँदैन रहेछ।
समूहमा काम गर्ने क्षमता विकास गर्नु, एकअर्काको प्रतिभा, दक्षता र क्षमताको सम्मान गर्नु तथा आवश्यकताअनुसार त्यसको सही उपयोग गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण रहेछ।
यो कुरा मैले जीवनका ४५ वटा वसन्त पार गरेपछि मात्र गहिरो रूपमा बुझेँ। जीवनको यात्रामा यस्ता प्रतिकूल परिस्थितिहरू पनि आउँदा रहेछन्, जसको सामना आफ्नो मात्र क्षमता, प्रतिभा र प्रयासले गर्न सम्भव नहुन सक्छ।
कतिपय चुनौतीहरू यस्ता हुन्छन्, जहाँ आफ्नो सामर्थ्यले मात्र होइन, अरूको सामर्थ्यसँग जोडिएर अघि बढ्नुपर्ने रहेछ। त्यसैले आफ्नो क्षमता पहिचान गर्नुका साथै अरूको क्षमता र प्रतिभालाई सम्मान गर्दै उनीहरूसँग सहकार्य गर्न सक्नु नै दीर्घकालीन सफलता र उपलब्धिको महत्वपूर्ण आधार रहेछ।
अन्ततः, एक्लै सक्षम हुनु राम्रो हो; तर अरूको क्षमतालाई पहिचान गरी त्यसलाई आफ्नो क्षमतासँग जोडेर सामूहिक शक्ति निर्माण गर्न सक्नु अझ ठूलो क्षमता रहेछ।
खरायो र कछुवाले अन्ततः एकअर्कालाई हराउने होइन, एकअर्काको क्षमता उपयोग गर्ने निर्णय गरेपछि दुवै सँगसँगै विजयी भए। सायद जीवनको सबैभन्दा ठूलो जित पनि यही हो—अरूलाई पछाडि पारेर एक्लै अघि बढ्नु होइन, एकअर्कालाई साथ दिँदै सबैलाई सँगै अघि बढाउनु।
र यसरी, बाल्यकालमा सुनेको खरायो र कछुवाको कथाले जीवनका ४५ वसन्त पार गर्दा मेरो लागि अर्को नयाँ अर्थ बोकेको थियो।
जिन्दगी निरन्तर चलिरहेकै छ। आगामी दिनहरूले मलाई के-कस्ता नयाँ पाठ सिकाउनेछन्, त्यो मलाई थाहा छैन। तर अहिलेसम्मको जीवनयात्राले एउटा कुरा भने स्पष्ट रूपमा सिकाएको छ —सहकार्य, सहअस्तित्व र एकअर्काको क्षमताको सम्मानबिना हाम्रो यात्रा अधुरो रहन्छ।
यदि हामी आफ्नै क्षमता र सामर्थ्यमा मात्र घमण्ड गर्दै अरूलाई पछाडि पार्ने दौडमा लागिरह्यौँ भने, हामी फेरि त्यही पुरानो खरायो र कछुवाको कथामै सीमित हुनेछौँ। तर एकअर्काको क्षमता पहिचान गर्दै, आवश्यकता पर्दा एकअर्कालाई साथ दिँदै र सामूहिक रूपमा अघि बढ्न सक्यौँ भने, जित केवल एउटाको होइन, सबैको हुनेछ।
सायद यही नै बाल्यकालमा गुरुले सुनाउनुभएको खरायो र कछुवाको कथाले जीवनका चार दशकभन्दा बढी यात्रापछि मलाई सिकाएको सबैभन्दा ठूलो पाठ हो—जिन्दगी एउटा अन्तहीन दौड हो; यसमा कहिलेकाहीँ खरायो बन्नुपर्छ, कहिलेकाहीँ कछुवा, र कहिलेकाहीँ दुवैले एकअर्कालाई बोकेर सँगै दौडनुपर्छ।






