मकवानपुरमा निर्वाचन प्रहरी भर्नाका लागि २ हजार ३७२ जनाको आवेदन
मकवानपुर जिल्लामा कुल २ हजार ३ सय ७२ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार माघ १ गते बेलुकासम्म नेपाल प्रहरीतर्फ २ हजार २ सय ६६ जनाले आवेदन दिएका छन् । तीमध्ये महिला ६ सय ६४ र पुरुष १ हजार ६ सय २ जना रहेका छन् ।
जिल्लामा निर्वाचन प्रहरीका लागि १ हजार ९ सय २३ जनाको कोटा निर्धारण गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बलतर्फ १ सय ६ जनाले आवेदन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरमा महिला ४२ र पुरुष ६४ जनाले आवेदन फाराम भरेका छन् ।
सशस्त्र प्रहरी बल नम्बर १४ गणका प्रमुख प्रहरी उपरीक्षक सन्तोष शाहका अनुसार मकवानपुरमा सशस्त्र प्रहरीतर्फ १ सय ७९ जनाका लागि भर्ना खुलाइएको छ ।
आवेदन दिनेको संख्या अपेक्षाकृत कम भएपछि सशस्त्र प्रहरीतर्फ आवेदन म्याद थप गरिएको गण प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छुक उम्मेदवारले शनिबारसमेत हेटौंडा–८ स्थित सशस्त्र प्रहरी बल नम्बर १४ गणमा आवेदन दिन सक्नेछन् ।
नेपाल प्रहरीतर्फ भने आवेदन म्याद थप गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताउनुभयो ।






