हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीका सबै मार्ग पुनः सञ्चालन

छहारी संवाददाता
भदौ ७, २०८२

शुक्रबार दिउँसोको वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीका सबै मार्ग पुनः सञ्चालनमा आएका छन् ।

भीमफेदी गाउँपालिका–१ बागझोरामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको हेटौंडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्ड तथा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्ड करिब १४ घण्टापछि खुलेको हो । छोटो दूरीको प्रवेशद्वारमै पहिरोले बाटो अवरुद्ध बनाएपछि काठमाडौँ–हेटौंडा आवागमन पूर्णरूपमा रोकिएको थियो ।

बाटो सुचारु भएसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी, नेपाली सेना, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी र सडक डिभिजन कार्यालयका टोली सहित स्काभेटरको प्रयोग गरेको थियो ।

त्यसैगरी, हेटौंडा–ललितपुर जोड्ने कान्ति लोकपथ पनि सुचारु भएको छ । मकवानपुरको लेनडाँडा र जितपुर भन्ज्याङ क्षेत्रमा खसेको पहिरो पन्छाएसँगै उक्त मार्ग पनि खुलेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*