चालक र सहचालकहरूका लागि पाँच/पाँच लाख रुपैयाँको दुर्घटना बीमा
नारायणी यातायात व्यवसायी संघले आफ्ना सदस्यहरूको हितलाई ध्यानमा राखेर दुर्घटना बीमा कार्यक्रम सुरु गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच संघले सवारी धनी, चालक र सहचालकहरूको दुर्घटना बीमा कार्यक्रमको सुभारम्भ गरेको हो । नारायणी यातायात व्यवसायी संघमा आबद्ध व्यवसायी सदस्यहरूको लागि १० लाख रुपैयाँ बराबरको बीमा गरिएको छ भने चालक र सहचालकहरूको लागि पाँच÷पाँच लाख रुपैयाँको बीमा गरिएको संघका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।
संघका अध्यक्ष हीरालाल श्रेष्ठले ८ सय २४ जना व्यवसायी सदस्यहरूको बीमा प्रिमियम बापतको १ लाख ७९ हजार रुपैयाँको चेक सगरमाथा लुम्बिनी इन्सुरेन्स प्रा.लि सलिकोका क्षेत्रीय प्रबन्धक मछेन्द्र बोगटीलाई हस्तान्तरण गर्नुभयो । त्यसैगरी, क्षेत्रीय प्रबन्धक बोगटीले अध्यक्ष श्रेष्ठलाई बीमालेख प्रदान गर्नुभयो ।
व्यवसायीहरूलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले यो बीमा कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौंलागाईले संघमा आबद्ध सबै व्यवसायीहरूको बीमा गरिने जानकारी दिनुभयो । पहिलो वर्षको लागि बीमाको प्रिमियम रकम नारायणी यातायात व्यवसायी संघले नै तिरिदिने र आगामी वर्षबाट भने बिमित स्वयंले तिर्नुपर्ने बताइएको छ ।
सवारी धनीको हकमा वार्षिक तीन सय १० रुपैयाँ र चालक तथा सहचालकको हकमा वार्षिक १ सय ५५ रुपैयाँ प्रिमियम शुल्क लाग्नेछ ।
बिमा कार्यक्रम अन्तर्गत सवारी धनी, चालक र सहचालक गरी करिब १५ हजार जनाको बीमा गरिने लक्ष्य राखिएको छ । सलिकोका क्षेत्रीय प्रबन्धक बोगटीले यो बीमा कार्यक्रम जुनसुकै दुर्घटनामा पनि समावेश हुने जानकारी दिनुभयो ।






