वैकल्पिक रोजगारीको अवसर पाए पेशा परिवर्तनका लागि तयार: महिला यौनश्रमिक

वैकल्पिक रोजगारीको अवसर पाए पेशा परिवर्तनका लागि आफूहरु तयार रहेको महिला यौन श्रमिकहरूले बताएका छन् ।
आफूलाई नागरिकभन्दा तल्लो दर्जामा राखिएको भन्दै उनीहरूले सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरे ।
महिला कानुन र विकास मञ्च (FWLD) को आयोजनामा हेटौंडामा आयोजित यौन श्रममा संलग्न व्यक्तिहरुको अधिकारको सम्बन्धी छलफल कार्यक्रममा सहभागी यौनकर्मीहरूले बाध्यताले यौन पेशामा आएको बताएका थिए । उनीहरूले शिक्षा र रोजगारीको अवसर नपाउँदा यस पेशामा निरन्तर रहन बाध्य भएको गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले यौन श्रमलाई प्रवद्र्धन गर्ने वा निरुत्साहित गर्ने भन्ने विषयमा बहस आवश्यक रहेको बताउनुभयो । नेपाली समाजले परम्परालाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति भएकाले यौन पेशालाई सहज रूपमा स्वीकार्न नसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अधिवक्ता युवराज वलिले राज्यबाट यौन पेशालाई निरुत्साहित गरिँदै आए पनि हाल करिब १ लाखको हाराहारीमा यौनकर्मी रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
“तथ्यांकअनुसार शिक्षकजत्तिकै यौनकर्मी छन्, यो रहर होइन, आर्थिक बाध्यता हो,” उहाँले भन्नुभयो । यौन श्रमिकहरूको सन्तानलाई जन्मदर्ता र नागरिकता बनाउन गाह्रो हुने समस्या समाधान गर्न राज्य जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
उच्च अदालतका अधिकृत पवन ढकालले संघीय, प्रदेश र स्थानीय सरकारले वैकल्पिक जीविकोपार्जनका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यौन पेशालाई प्रवद्र्धन गर्न कानूनी र सामाजिक अवरोध रहेको उल्लेख गर्नुभयो ।
महिला मुक्ति संघ मकवानपुरकी महासचिव सुस्मिता आले मगरले २०६३ सालदेखि यौन श्रमिकका हक अधिकारका लागि कार्यक्रम सञ्चालन गर्दै बताउनुभयो । उहाँले संघमा करिब चारपाँच सय यौन श्रमिक महिला आबद्ध भएको बताउँदै समाजले अभद्र शब्द प्रयोग गरेर आत्मसम्मानमा चोट पु¥याउने गरेको गुनासो गर्नुभयो ।
“सामान्य सफाइको जागिर माग्दा पनि विभिन्न बहाना बनाइन्छ, राजनीतिक पहुँचबिना रोजगारी पाउन कठिन छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा कानूनकी विद्यार्थी दिद्धिक्षा सिंहले यौन पेशामा संलग्न व्यक्तिसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी व्यवस्थाहरुको बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो ।
राष्ट्रिय यौन रोग नियन्त्रण केन्द्रको २०२४ को अध्ययन अनुसार नेपालमा ८६ हजार ८ सय ९ जना यौनकर्मी रहेका छन् । तीमध्ये १३ हजारभन्दा बढी एचआईभी संक्रमित छन् । सर्वाधिक महिला यौनकर्मी काठमाडौंमा ९ हजार सात ८९ देखि ११ हजार ६ सय ७० को हाराहारीमा रहेका छन् भने भक्तपुर, ललितपुर र कास्की क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
कार्यक्रममा महिला कानुन र विकास मञ्चकी मकवानपुर जिल्ला संयोजक अधिवक्ता ललिता श्रेष्ठ, अधिवक्ता नवीनकुमार श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका कानून अधिकृत सुजन तिमल्सिना, माइती नेपालका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, लगायतको सहभागिता थियो ।