बागमती प्रदेश सभा बैठक साउन २७ गते मंगलबार बस्ने

छहारी संवाददाता
साउन २४, २०८२

बागमती प्रदेशसभा बैठक साउन २७ गते मंगलबार बस्ने भएको छ। प्रदेश सभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेको जनाएको हो।

बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची छ। नेपालको संविधानको धारा १६७ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७५ को नियम ११२ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँले बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिए।

यसअघि गत असार २३ गते प्रदेश सरकारको बजेट पारित गर्न प्रदेश सभा बैठक सञ्चालन भएको थियो। सोपश्चात् स्थगित गरिएको बैठक मुख्यमन्त्री बानियाँको विश्वासको मत लिनका लागि आह्वान गरिएको हो।

गत साउन २० मा कांग्रेस एमालेको गठबन्धनबाट नेपालको संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका बानियाँले सरकार जोगाउन सामान्य बहुमत ५६ सांसदको समर्थन जुटाउन जरुरी हुन्छ। मुख्यमन्त्री बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन छ।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*