बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ ।
१ वर्ष ९ दिन सरकारको नेतृत्व गर्नु भएका मुख्यमन्त्रीलामाले आइतबार साँझ पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो । उहाँले २०८१ श्रावण ९ गते मुख्यमन्त्रीको सपथ लिनु भएको थियो ।
मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा भएका प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । लामाले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च र राजस्व संकलनमा उल्लेख्य सुधार गरेको दाबी गर्नुभयो । उहाँले प्राकृतिक विपत्तिको समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारका लागि द्रुत प्रतिकार्य टोली गठन गरिएको जानकारी दिनुभयो । आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको र राजस्व संकलनमा पनि वृद्धि भएको उहाँको दाबी छ।
यसैगरी, एक वर्षे कार्यकालमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाइजेसनको प्रक्रिया सुरु गरिएको र सुशासन प्रवद्र्धनका लागि भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइएको लामाले बताउनुभयो । प्रदेश सरकारले प्रदेशमा मात्र नभई स्थानीय तहसम्म पनि शासकीय सवलीकरण गर्ने दिशामा काम गरेको उहाँको दाबी छ।
मुख्यमन्त्री लामाले आफूले इमान्दरीपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चका कारण सरकार छोड्न बाध्य भएको बताउनुभयो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको भन्दै मुख्यमन्त्री लामाले यस्ता घटनाक्रमबाट आफु नभाग्ने जिकिर गर्नुभयो ।
संसदीय दलको निर्वाचनमा इन्द्र बहादुर बानियाँसंग पराजित भएपछि लामालाई पार्टी सभापति शेरबहादुर देउवाबाट राजिनामा दिन निर्देशन आएको हो । लामाले राजीनामा दिएसंगै बागमतीको मुख्यमन्त्रीमा अब दलको नेताको रूपमा बानियाँ आउनुहुनेछ । सत्तासाझेदार दल नेकपा एमालेसंग एक वर्षअघि भएको सहमति अनुसार बानियाँले ८ महिना सरकार सञ्चालन गर्नुहुनेछ ।






