बागमती प्रदेशका मुख्यमन्त्री लामाले पदबाट राजिनामा दिँदै
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार अन्तिम मन्त्रीपरिषद् बैठक आव्हान गर्नु भएको छ । मुख्यमन्त्री पदबाट राजीनामा दिनु अघि बस्ने यस बैठकबाट राजीनामाको औपचारिक निर्णय हुने उहाँको सचिवालयले जनाएको छ ।
एक वर्षअघि ८ साउन २०८१ मा मुख्यमन्त्री बन्नु भएका लामाले ९ साउनमा पद तथा गोपनियताको शपथ लिनुभएको थियो ।
१४ मन्त्रालय रहेको बागमती प्रदेशमा आइतबारको क्याबिनेट बैठकमा ९ मन्त्री मात्रै सहभागी हुनेछन् । यसअघि लामा नेतृत्वको मन्त्रीपरिषदमा एमालेका ६ र मुख्यमन्त्रीसहित कांग्रेस का ८ जना मन्त्री रहेका थिए ।
सरकारकको अन्तिम बैठकमा एमालेका कृषि मन्त्री प्रकाश श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, उद्योग मन्त्री सुकमाया तामाङ र स्वास्थ्य मन्त्री किरण थापा छन् । यस्तै कांग्रेसतर्फबाट मुख्यमन्त्री लामा स्वयं, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकास मन्त्री हरिप्रभा खड्की छन् ।
यसअघि राजीनामा दिएका सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई लामाले बर्खास्त गर्नु भएको थियो । खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री श्याम खड्काले भने गत बुधबार राजीनामा दिनुभएको थियो ।
मन्त्रीपरिषद् बैठकपछि पत्रकार सम्मेलन गरी आगामी कदमबारे जानकारी दिइने तयारी छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आइतबार हेटौंडा फर्किएमा लामाले प्रत्यक्ष राजीनामा बुझाउनुहुनेछ । अन्यथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राजीनामा दर्ता गर्ने मुख्यमन्त्री लामाले बताउनुभयो ।






