हेटौंडामा सुविधासम्पन्न प्रादेशिक कृषि थोक बजार भवनको उद्घाटन
हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको साझेदारीमा निर्मित प्रादेशिक कृषि थोक बजार भवनको आइतबार औपचारिक उद्घाटन गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा थोक बजार भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले थोक बजारलाई बागमती प्रदेश सरकारले नमूना कार्यक्रमको रूपमा अघि बढाएको बताउनुभयो । थोक बजार किसान, व्यवसायी र उपभोक्ता सबैलाई लक्षित गरी सञ्चालन हुने उहाँको भनाई छ ।
किसान महासंघ, कृषक महासंघ लगायत कृषि क्षेत्रका सरोकारवालाहरूको समन्वयमा उपभोक्तालाई स्वस्थ तरकारी उपलब्ध गराउन यो बजारले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री श्रेष्ठको विश्वास रहेको छ । मन्त्री श्रेष्ठले हाललाई भवनको मात्र उद्घाटन गरिएको बताउँदे व्यावसायिक रुपमा छिट्टै थोक बजार सञ्चालन हुने बताउनुभयो ।
प्रादेशिक थोक बजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा मन्त्रालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजना अनुरुप प्रविधिमैत्री थोक बजार निर्माणका लागि यस आर्थिक वर्षमा ९ वटा पालिकालाई बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।
मन्त्री श्रेष्ठले बागमती प्रदेशभित्र ८० प्रतिशत भन्दा बढी जमिन बाँझो रहेकोमा चिन्ता व्यक्त गनुृभयो । उहाँले बाँभाmे रहेका जग्गालाई उपयोगमा ल्याउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । कृषि उपजको आयात घटाउँदै निर्यात बढाउन सबै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । मूल्य श्रृंखलामा आधारित रहेर किसानका कृषि उपज सिधै उपभोक्तासम्म पु¥याउन अभियान थालिने पनि उहाँले बताउानुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले कृषि थोक बजार किसानप्रतिको सम्मान भएको बताउनुभयो । किसान लक्षित भवनमा मन्त्रालय राखेको प्रति असन्तुष्टि जनाउँदै उहाँले किसानले सुविधासम्पन्न भवन प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो । नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यविधि स्वीकृत भएर आएलगत्तै दशैँअघि नै बजार सञ्चालनमा ल्याउने बताउँदै नगर प्रमुख लामाले थोक बजार सञ्चालनको जिम्मा सिधै किसानलाई दिने उपमहानगरपालिकाको तयारी रहेको उल्लेख गनुृभयो ।
बागमती प्रदेशभित्र उत्पादित कृषि उपजको सहज र उचित बजार व्यवस्थापन गरी कृषक तथा उपभोक्ता दुवैलाई उचित लाभ प्रदान गर्ने उद्देश्यले कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा थोक बजार निर्माण गरिएको हो। थोक बजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको थोक बजार प्रदेश सरकारको ७० प्रतिशत र हेटौंडा उपमहानगरको ३० प्रतिशत साझेदारीमा निर्माण गरिएको हो । बजारमा थोक बिक्रीका लागि दुई तलाको भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन्।
साना किसानहरूलाई आफ्ना कृषि उत्पादन आफैँ बेच्न टहराको व्यवस्था पनि गरिएको छ। साथै २ सय ३२ वर्ग मिटरको च्याम्बरसहितको कोल्ड स्टोरेज पनि रहेको छ । जहाँ एक पटकमा ५०० मेट्रिक टनसम्म कृषि उपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।







