नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बा हेटौंडामा सम्मानित
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई हेटौंडामा सम्मान गरिएको छ ।
सञ्चारिका समूह मकवानपुर शाखाले शनिबार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान बनाउन पुराएको योगदानको कदर गर्दै नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
सम्मान रकम हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरन बहादुर जोशिले प्रदान गर्नुभएको हो ।
सम्मान ग्रहणपछि बोल्दै कप्तान भण्डारीले आफूले धेरै मेहनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताउनुभयो । मोजाको भकुन्डोबाट आफ्नो फुटबल करियर सुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको बताउनुभयो ।
कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको बताउनुभयो ।
कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गर्नुभयो । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उहाँको भनाई थियो ।
फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उहाँ बताउनुभयो । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौंडा उपमहानगरपालिका खेल क्षेत्रको विकासका लागि सधैँ सकारात्मक रहेको बताउनुभयो ।
उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालनका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो । उपमहानगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय महिला टोलीका खेलाडीलाई सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
उपप्रमुख बाँनियाले उपमहानगरपालिकाले खेल मैदानलाई प्राथमिकता दिएर ‘एक वडा एक खेल मैदान’ अवधारणामा रहेर धेरै वडामा खेलमैदान बनाएको बताउनुभयो । खेलाडी उत्पादनका लागि विद्यालय तहदेखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी उपमहानगर अगाडि उपप्रमुख बाँनियाले बताउनुभयो ।
सञ्चारिक समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, शिक्षाविद् पुरनबहादुर जोशी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूह मकवानपुरकी संस्थापक अध्यक्ष सरिता दाहाल लगायतले मन्तव्य राखेका थिए । साम्बालाई हेर्नका लागि मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी, खेलप्रेमी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।






