बागमती प्रदेशको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

प्रदेशका ८ सय ८४ विद्यालयमा कार्यक्रम लागू, १ सय ४ विद्यालयमा नर्श रिक्त, दुर्गम क्षेत्रमा नर्स पाउन मुस्किल
छहारी संवाददाता
साउन १३, २०८२

बागमती प्रदेश सरकारले विद्यार्थीको स्वास्थ्य सुधारका लागि सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २० वटा सामुदायिक विद्यालयबाट सुरु भएको यो कार्यक्रम हाल प्रदेशका ८ सय ४८ सामुदायिक विद्यालयमा विस्तार भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, प्रदेशमा रहेका कुल १५ सय ८८ माध्यमिक विद्यालयमध्ये ५३ प्रतिशतमा यो कार्यक्रम सञ्चालनमा छ । कार्यक्रम प्रभावकारी हुँदाहुँदै पनि १ सय ४ विद्यालयमा नर्स रिक्त छ ।

विशेषगरी दुर्गम तथा विकट क्षेत्रका विद्यालयमा नर्स जान नमान्दा पदपूर्तिमा समस्या देखिएको छ । रिक्त पदपूर्तिका लागि वैकल्पिक सूचीका उम्मेदवारबाट प्रयास गरे पनि अपेक्षित सफलता नमिलेको स्वाव्थ्य निर्देशनालयका प्रवक्ता अर्जुन पौडेलले बताउनुभयो ।

विद्यालय नर्स कार्यक्रम सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय ८ विद्यालयमा लागू भएको छ। त्यसैगरी, काभ्रेपलाञ्चोकमा २, चितवनमा ७६, धादिङमा ७९, दोलखामा ६१, नुवाकोटमा ७६, मकवानपुरमा ७६, भक्तपुरमा २५, रसुवामा १, रामेछापमा ५१, ललितपुरमा ५४, सिन्धुपाल्चोकमा ७६ र सिन्धुलीमा ८० सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन रहेको छ ।

कार्यक्रम लोकप्रिय भए पनि प्रदेश सरकारले चालू आर्थिक वर्षमा यसको बजेटमा कटौती गरेको छ। गत आर्थिक वर्षमा ४९ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा चालू आर्थिक वर्षमा ४५ करोड मात्रै छुट्याइएको छ ।

बजेट कटौतीले कार्यक्रमको निरन्तरता र विस्तारमा चुनौती थपिएको छ । विद्यालय तहमा नै विद्यार्थीहरूको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यलगायतका विषयमा प्रवद्र्धन गर्न यो कार्यक्रम निकै प्रभावकारी मानिएको छ । यसका साथै, सर्ने तथा नसर्ने रोगका बारेमा विद्यार्थीलाई समयमै जानकारी दिनुका साथै विद्यालय छोड्ने दरमा समेत कमी आएको छ ।

कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्रदेश सरकारले एक जना विद्यालय नर्स करारमा नियुक्त गर्ने गरेको छ । दुर्गम क्षेत्रका विद्यालयमा यस सेवाको लाभ विद्यार्थीसँगै अभिभावकले समेत लिने गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*