समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीहरूलाई ऋण तिर्न ताकेता
बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीहरूलाई ऋण तिर्न ताकेता गरेको छ ।
एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको हो । प्रदेश सरकारले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित गरिएका सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो ।
ऋण कर्जा रकमको साँवा तथा ब्याज रकम फरफारको लागि पटक–पटक सूचना प्रकाशित गर्दा, फोनबाट समेत जानकारी गराउँदा पनि ऋणीहरू सम्पर्कमा नआएकोले बुझाउनु पर्ने ऋण रकम भाद्र मसान्त भित्र यस समितिको बैंक खातामा बुझाउन सूचित गरिएको छ। तोकिएको समयमा ऋण रकम नबुझाएको खण्डमा ऋण असुली सम्बन्धी आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयको सहकारी महाशाखाका अनुसार, हालसम्म बागमती प्रदेशमा ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् । बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारी ३ सय ५१ वटा सहकारी विरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ






