बहादुरसिंह लामाको असक्षमताले सात प्रदेशमध्ये बेकामे बन्यो बागमति सरकार

केहि व्यवसायीबाट अनुचित लाभ लिएर गाडीमा सिन्डिकेट लगाएको मुख्यमन्त्रीमाथि आरोप
छहारी संवाददाता
साउन १३, २०८२

सरकार सञ्चालनमा अत्यन्तै कमजोर भूमिका र विवादित आचरणका कारण बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आफ्नै पार्टीबाट अपदस्थ हुनुपर्ने अवस्थामा पुगेका छन् ।

मुख्यमन्त्रीका रुपमा उनको एक वर्षे कार्यकाल बागमती प्रदेशको अहिलेसम्मकै कमजोर बनेकोा टिप्पणी उनकै सरकारमा सहभागी मन्त्रीहरुको छ ।

सरकार प्रभावकारी हुन नसकेको, कमजोर निर्णय क्षमता र अनुचित लाभमा फस्दै गएका मुख्यमन्त्री लामाका कारण प्रदेश सरकार नै बदनाम भएपछि कांग्रेसकै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनको सरकारमा सहभागी कांग्रेसकै चार मन्त्रीले पदबाटै राजीनामा दिइसकोक छन् ।

“मुख्यमन्त्रीको कार्यक्षमतामाथि सुरुमै आशंका नभएको त होइन, तर पनि अनुभव गर्दै जाँदा सिकिँदै जान्छ भन्ने हाम्रो बुझाइ थियो,” मन्त्रीबाट राजीनामा दिएका मीनकृष्ण महर्जनले भने, “तर एक वर्षसम्म उहाँले काम गर्नै सक्नुभएन । न त काम गर्ने मन्त्रीहरुलाई सहयोग गर्नुभयो ।”

सरकारमा टाँसिएर बस्नुभन्दा बिकल्प खोज्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको उनको भनाई छ । “मन्त्री बनिरहन त के समस्या थियो तर सरकारकै बेइज्जत हुन थाल्यो । उहाँमा काम गर्ने न त ढंग थियो न अनुभव देखियो, त्यसपछि उहाँको बिकल्प खोजेनौं भने प्रदेश सरकार नै दुर्घटना पर्ने अवस्था आयो,” महर्जनले भने ।

कांग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँलाई संसदीय दलको नेतामा पराजित गरेर मुख्यमन्त्री बनेका हुन् लामा । तर विगतमा उनलाई साथ दिएका सांसदहरु नै मुख्यमन्त्रीविरुद्ध उभिएका छन् । जसले मुख्यमन्त्रीको कार्यक्षमतामाथि व्यापक प्रश्न उठेको हो ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने लामालाई मुख्यमन्त्रीबाट हटाउन देउवा बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री लामा नेतृत्वको सरकारले हालै ल्याएको प्रदेश बजेटले त देशभर नै चर्चा पायो ।

“बागमती प्रदेशको बजेटमा गण्डकीका लागि बजेट छुट्याइयो, यो कतिसम्मको लाजमर्दाे अवस्था भयो होला,” कांग्रेसकै अर्का प्रदेशमन्त्रीले भने, “यो सबैको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्दछ । उहाँले न त कर्मचारी प्रशासन चलाउन सक्नुभयो न कुनै कार्यकुशलता देखियो । उहाँलाई जति पदमा राख्यो,त्यति समस्या देखिने भयो । अनि हटाउने निष्कर्षमा पुगेका हौं ।”

मुख्यमन्त्री लामाले बागमति प्रदेशमा एकाध गाडीको मोनोपोली कायम राख्न उनीहरुबाट अनुचित लाभ लिएको गम्भीर आरोप समेत लागेको छ । उनले अरुलाई प्रतिस्पर्धामा आउनै नदिन केहि सिमित व्यवसायीबाट ठूलो रकम असुली गरेको आरोप लागेको हो ।

बागमति प्रदेशमा कांग्रेसका ३७ सदस्य छन् । बहुमतका लागि १९ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेश अध्यक्ष बाँनियालाई दलको नेता समर्थन गर्दै २१ प्रदेश सभा सदस्यले हस्ताक्षर दलको कार्यालयमा दर्ता गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*