नीति, संरचना र सेवा विस्तारको दृष्टिले बागमतीमा उल्लेख्य उपलब्धि हासिल भएको स्वास्थ्यमन्त्री थापाको दाबी
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले आफ्नो एक वर्षे कार्यकालमा गरेका प्रमुख कार्यहरू सार्वजनिक गर्नुभएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री थापाले नीति, संरचना र सेवा विस्तारको दृष्टिले मन्त्रालयले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको दाबी गर्नुभयो । ७ वटा प्रदेश मध्ये बागमती प्रदेशले मात्रै विद्यालय नर्सको व्यवस्था गरेको मन्त्री थापाले बताउनुभयो । गत आर्थिक वर्षका ३ सय १९ विद्यालय नर्स थपिएको जानकारी दिदै हाल ८ सय ४८ विद्यालयमा बिस्तार गरिएको मन्त्री थापाले बताउनुभयो । टोखा र बज्रवाराही लगायतका अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र सेवा सुधार गरिएपछि उपचार सेवा प्रवाह थप प्रभावकारी बनेको उहाँले बताउनुभयो । प्रदेशका मुख्य प्रादेशिक अस्पतालमा दैनिक औसत ७ हजार बिरामी सेवा लिन पुग्ने गरेका उहाँको भनाई छ ।
मन्त्री थापाले आयुर्वेद तथा औषधी उत्पादन केन्द्रले दुई प्रकारको मात्रै आयूर्वेद औषधी उत्पादन गर्दै आएकोमा आठ प्रकारको औगाधी थप गरिएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षका प्रदेश सरकारले २१ प्रकाारका आय्रर्वेद औषधी उत्पादनको तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।
सीमान्तकृत, लोपोन्मुख, अपांगता ‘ख’ वर्ग, महिला स्वास्थ्य स्वयंसेविका र आश्रममा आश्रितहरूको बीमा प्रिमियम वापत मन्त्रालयले १० करोड ५० लाख रुपैयाँ स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत एमडी–एमएस तहका ७ वटा कार्यक्रमका लागि ८ सिट स्वीकृत भएको जनाइएको छ।
त्यस्तै, एनेस्थेसिया विषयमा नयाँ कार्यक्रम सुरु गरिएको छ भने चिकित्सा शिक्षाका चार वटा स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको जनाइएको छ । पाँचवटा प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको विवरणमा उल्लेख छ ।
प्रदेश सरकारले प्रदेशका दुर्गम क्षेत्रहरूमा विशेषज्ञ चिकित्सकलाई प्रोत्साहनस्वरूप ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्नुका साथ हेटौंडा अस्पतालमा ‘बर्न वार्ड’ स्थापना, सबै प्रादेशिक अस्पतालहरूमा आँखा, नाक–कान–घाँटी, छाला तथा यौन रोग, दन्त तथा मानसिक स्वास्थ्य सेवाको विस्तार गरिएको बताइएको छ । मन्त्रालयल गत वर्ष ३० लाख डेंगी परीक्षण किट र ५ लाख लागुपदार्थ परीक्षण किट खरिद गरिेको जनाएको छ।






