चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

छहारी संवाददाता
असार ३१, २०८२

जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ ।

वार्षिक मुद्दा फछ्र्यौट लक्ष्य २ हजार ७ सय ३९ राखेकोमा अदालतले २ हजार ८ सय ८६ मुद्दा फछ्र्यौट गर्न सफल भएको अदालतकी श्रेस्तेदार रोशी भण्डारीले जानकारी दिनुभयो । जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५ सय ९७ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५ सय ५३ गरि कुल ४ हजार १ सय ५० मुद्धा रहेका थिए ।

ती मध्ये चालू आर्थिक वर्षको असार ३० गतेसम्म अदालतले लगतको आधारमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ भने लक्ष्यको आधारमा १ सय ४ दशमलव ७१ प्रतिशत रहेको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । अदालतले लक्ष्य भन्दा बढी फछ्र्यौट गरेको मुद्धाको संख्या १ सय २९ रहेको छ । श्रेस्तेदार भण्डारीका अनुसार अब १ हजार २ सय ८२ मुद्दा फछ्र्यौट हुन बाँकी छ । ती मध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा छन् ।

बाल इजलासमा ९४ मुद्दामध्ये ७० मुद्दा फछ्र्यौट भएका छन् । कसुरजन्य अपराधमा असुल गर्नुपर्ने क्षतिपूर्ति रकम १ करोड ६६ लाख रहेकोमा अदालतले १ करोड ५४ लाख भराएको छ । २७ जना पीडितले क्षतिपूर्ति उपलब्ध गराइदिन निवेदन दिएकामा १८ जनालाई पीडित राहत कोषबाट १ करोड १५ लाख क्षतिपूर्ति प्रदान गरिएको श्रेष्तेदार भण्डारीले बताउनुभयो । पिडकबाट ३८ लाख २० हजार क्षतिपूर्ति दिलाइएको छ ।

९ जना पीडितले क्षतिपूर्ति वापतको रकम लिएका छैनन् । उनीहरुलाई १२ लाख ९० हजार क्षतिपूर्ति दिन बाँकी छ । जिल्ला अदालत मकवानपुरमा लागूऔषध, सम्बन्ध विच्छेद, चेक अनादर लगायतका मुद्दा बढी आउने गरेको जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईले बताउनुभयो । मकवानपुर जिल्ला अदालतमा ४ जना न्यायाधीश र श्रेस्तेदार समेत महिला रहेका छन् । कुल ६० जना कर्मचारी रहेको जिल्ला अदालतमा २६ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*