हेटौंडाका जनप्रतिनिधिहरु आन्दोलित, जिल्ला प्रशासनबाट सेवा प्रवाह

छहारी संवाददाता
साउन ५, २०८२

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले आइतबार जिल्ला प्रशासन कार्यालय, मकवानपुर परिसरबाट सेवा प्रवाह गरेका छन्।

उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै उनीहरूले सांकेतिक विरोध स्वरूप प्रशासनबाटै सेवा प्रवाह गरेका हुन् । उपमेयर राजेश बानियाँसहित १० वटा वडाका अध्यक्षहरूले दुई घण्टासम्म परिसरमै डेक्स राखेर सेवा प्रवाह गरे ।

वडा कार्यालय भन्दा जिल्ला प्रशासन कार्यालय बढी सुरक्षित लागेकाले प्रशासनबाट नै सेवा प्रवाह गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । आक्रमण भएको एक महिना बितिसक्दा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा अन्य सोझासाझा जनतालाई दुःख दिने काम गरेको उहाँको आरोप छ । आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा समेत प्रहरीले पक्राउ नगरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले अपराधी पक्राउ गर्न प्रहरी र प्रशासनले तदारुकता नदेखाएका कारण आफूहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको बताउनुभयो । स्थानीय तह स्वयं सरकार र जनताको सेवक भए पनि आन्दोलन गर्नु बाध्यता भएको उहाँको भनाई छ । यस विषयमा गृहमन्त्रीसम्म जानकारी गराइसक्दा पनि आक्रमणकारी पक्राउ गर्न नसक्नुमा प्रशासन र प्रहरीकै मिलोमतो रहेको आशंका जनाउनुभयो ।

जबसम्म आन्दोलनकारी पक्राउ पर्दैनन्, तबसम्म आन्दोलनका कार्यक्रम जारी रहने उपप्रमुख बानियाँले बताउनुभयो । यता, धर्ना स्थलमा पुगेका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले आक्रमणकारी पक्राउका लागि प्रहरीले वास्तै नगरेको भन्न नमिल्ने जिकिर गर्नुभयो । अनुसन्धानमा प्रहरी प्रशासन निरन्तर खटिरहेको उहाँको दाबी छ ।

अनुसन्धानका क्रममा नेकपा विप्लव समूहका कार्यकर्ता रहेको पाइएकोले घटनासँग सम्बन्धित केही व्यक्तिहरू पक्राउ परेको समेत उहाँले बताउनुभयो । आम असर्वसाधारणदेखि जनप्रतिनिधिको सुरक्षा दिनु प्रहरीको नैतिक कर्तव्य रहेको बताउँदै उपमहानगरसँग निरन्तर समन्वयमा प्रहरीले अनुसन्धान गर्दै आइरहेको उहाँको भनाइ छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेलले भने अनुसन्धानमा केही प्रगति देखिए पनि जति रुपमा अनुसन्धान हुनुपर्ने हो, त्यो रूपमा हुन नसकेको स्वीकार गर्नुभयो । घटना घटेको सुरुदेखि नै जिल्ला प्रशासनले दृश्य अदृश्य रुपमा अनुसन्धान कार्य अघी बढाइरहेको बताउनुभयो । घटनाप्रति शून्य सहनशीलता लिएको उल्लेख गर्दै जनप्रतिनिधिले आवश्यक ठानेमा जिल्ला प्रशासन कार्यालय सुरक्षाकर्मी खटाउन समेत तयार रहेको उहाँले बताउनुभयो ।

हेटौंडाका वडा अध्यक्षहरूले आज र भोलि जिल्ला प्रशासन कार्यालय परिसरबाट सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाका १० वटा वडाका जनप्रतिनिधि आन्दोलनमा सहभागी थिए । आन्दोलनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष भने सहभागी भएका थिएनन् ।

आन्दोलनको कार्यक्रम तय गर्दा सामूहिक निर्णय नगरिएको भन्दै उनीहरू आन्दोलनमा उपस्थित नभएको बताइएको छ । वडा कार्यालयमा काम गरिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाका अध्यक्ष न्यौपानेमाथि गत असार ४ गते सांघातिक आक्रमण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*