सुरक्षा निगरानी बढाउन बागमती प्रदेशका १० जिल्लामा सिसिटिभी जडान

छहारी संवाददाता
असार ३१, २०८२

बागमती प्रदेश सरकारले सुरक्षा निगरानी बढाउन आफना १० जिल्लामा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार एक कार्यक्रमका बीच ‘सीसीटीभी निगरानी प्रणाली’को उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको विनियोजित बजेटबाट १० जिल्लाको ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो । कुल २ करोड ८४ लाख ११ हजार ७३४ रुपैयाँ लागतमा जडान गरिएका १२० वटा सीसीटीभी क्यामेरा मंगलबार बाटनै औपचारिक रूपमा सञ्चालनमा आएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानुनमन्त्री लामिछानेले क्यामरा जडानबाट प्रदेशको शान्ति सुरक्षालाई सुव्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी कार्यालयहरुको लागि नयाँ भवन बनाउन, भएका भवनहरुको संरचना सुधार गर्न, थप क्यामरा जडानको लागि आगामी वर्ष ३ करोडको बजेट विनियोजन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले प्रदेशमा अझै पनि २ सय ५० वटा क्यामराको आवश्यकता रहेको बताउदै आगामी वर्षमा थप १ सय वटा क्यामरा जडान गरिने उल्लेख गर्नुभयो । जडान गरिएको क्यामरालाई ३८ वटा प्रहरी युनिटबाट नियमित रुपमा निगरानी गर्ने गरी व्यवस्था मिलाइएको छ ।

अन्तर प्रादेशिक सिमाना तथा राष्ट्रिय राजमार्गका सम्वेदनशील ३ स्थानहरु चितवनको नारायणगढ, सिन्धुलीको भिमान, मकवानपुरको रातोमाटे जस्ता संवेदनशील क्षेत्रहरूमा अत्याधुनिक ‘बिएलएच क्यामेरा’ र ‘रडार प्रणाली’ समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्यामरामा कम्तीमा ९० दिनको डाटा भण्डारण क्षमताको व्यवस्था रहेको र विद्युत अवरोधको अवस्थामा पनि सिस्टम बन्द नहुने गरी पावर व्याकअपको व्यवस्था गरिएको छ । प्रणाली खरिदका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान गरिएको थियो। २०८२ साल जेठ १० गते सम्झौता गरिएको यो परियोजना असार मसान्तभित्र सम्पन्न गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*