हेटौंडाको १७ नम्बर वडामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास
बागमती प्रदेशको राजधानी हेटौंडाको १७ नम्बर वडामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रदेश प्रहरी अस्पतालको मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्नु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यान्वयन गर्ने यस अस्पताल निर्माणको सम्झौता रकम कुल आठ करोड तीन लाख ७१ हजार ७ सय ३८ रुपैयाँ रहने छ । यहि २०८२ असार १९ गते ठेक्का सम्झौता गरिएको अस्पतालको निर्माण कार्य २०८३ पुस १८ गते सम्पन्न गर्नुपर्नेछ । १५ शैय्याको निर्माण योजना रहेको अस्पतालमा बहिरंग विभाग, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिपबोरिङ, पार्किङलगायत संरचना निर्माण गरिनेछ।
अस्पताल निर्माण पश्चात अन्तरंग र बहिरंग सेवा दुवै सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डाक्टर प्रयास बिडारीले जानकारी दिनुभयो । हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौंडा– १५ रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई सीमित स्वास्थ्य सेवा दिँदै आएको छ। नयाँ अस्पताल सञ्चालनमा आएपछि प्रहरी कर्मचारीसंगै स्थानीय समुदायले पनि स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।






