आइतबार असार १५, धान दिवसः बागमती प्रदेश प्रमुख देवकोटाद्वारा शुभकामना व्यक्त

छहारी संवाददाता
असार १५, २०८२

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्नु हुदैं धान उत्पादन राष्ट्रिय आवश्यकता र दीगो समृद्धिको अनिवार्य शर्त भएको बताउनु भएको छ ।

नेपाल कृषिप्रधान देश भएकोले धान हाम्रो मुख्य बाली हो । यसै सन्दर्भमा हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले आमकृषकहरूलाई सम्मान, कृषि प्रणालीमा नवप्रवर्तन र खाद्य सुरक्षाको सुनिश्चितता तर्फको साझा प्रतिवद्धतालाई स्मरण गराउँछ। सो अवसर पारेर ‘सम्पूर्ण मेहनती किसान दाजुभाइ तथा दिदीबहिनीलगायत सबैमा धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को हार्दिक शुभकामना प्रकट गर्दछु’ उहाँले भन्नु भएको छ।

वर्षभरको कृषिकर्मको आधारशिला स्वरूप सुरु हुने रोपाइँको यस सन्दर्भमा कृषकहरूको श्रम, प्रकृतिसँगको सहकार्य र इतिहास तथा परम्परागत संस्कृतिको जगेर्ना एक साथ देख्न पाइन्छ। धान केवल अन्नबाली होइन, यो हाम्रो समाजको भावनात्मक, सांस्कृतिक र आर्थिक संरचनाको मेरुदण्ड हो । श्रम, आशा र भरोसाको प्रतीक हो।

तर वर्तमान परिवेशमा कृषिक्षेत्रले विविध चुनौतीहरू व्यहोर्दै आइरहेको छ । जलवायु परिवर्तनको असर, खेतियोग्य जमिनको ह्रास तथा खण्डिकरण, खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्ति, युवाहरूको कृषि प्रतिको घट्दो आकर्षण, उन्नत बीउ, मलखाद र सिचाइको कमी, कृषिमा लगानीको अभाव आदि समस्याहरूले यो क्षेत्रलाई थप संवेदनशील बनाएका उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।

यस अवस्थालाई बदल्न सोचाइ, नीति, प्रविधि, अनुसन्धान र व्यवहारमा आमूल परिवर्तन हुनु नितान्त आवश्यक भएको उहाँले बताउनु भएको छ। सम्बन्धित निकायहरूले कृषकमैत्री नीति निर्माण, बीउ, मलखाद र सिँचाइमा पहुँच, आधुनिक उपकरणको प्रयोग, बजार सुनिश्चितता, बीमा तथा अनुदान जस्ता विषयमा प्राथमिकता दिनु नितान्त जरुरी रहेको उहाँले बताउनु भएको छ।

यस वर्षको राष्ट्रिय धान दिवसले सम्पूर्ण कृषक समुदायमा थप उत्साह, आत्मबल र समर्पणको भावना जागृत गराउने अपेक्षा उहाँले राख्न‍ु भएको छ ।  ूधानबालीमा सघनता स् खाद्य सुरक्षा र आत्मनिर्भरताू भन्ने राष्ट्रिय नाराका साथ आज हामी २२औं राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवका रूपमा मनाइदै छ । मानो रोपेर मुरी उब्जाउने लक्ष्य बोकेको आजको दिनले आशा, कर्मप्रतिको भरोसा, प्रकृतिसङ्गको अटुट सम्बन्ध र सृजनालाई प्रतिबिम्बित गर्दछ ।

‘हरेक किसानको लागि कर्म, स्वाभिमान, सहकार्य र समृद्धिको सन्देशवाहक बनोस्’ प्रदेश प्रमुख देवकोटाले सन्देशमा भन्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*