बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालहरु सुधारोन्मुखः मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्रमा सुधार आएको बताउनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्नहुँदै मुख्यमन्त्री लामाले एकल अधिकारको रुपमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो । प्रदेशको १३ वटा प्रादेशिक अस्पतालहरु सुधारोन्मुख भएर अगाडि बढेको उहाँको भनाई छ ।
प्रतिष्ठानको कुलपति समेत रहनुभएका मुख्यमन्त्री लामाले विगतमा संघ सरकारको मातहातमा रहेका अस्पतालहरु अहिले डाक्टर, नर्स उत्पादन गर्ने थलोमा परिणत भएको बताउनुभयो । हेटौंडा अस्पतालको ३ सय बेडको भवनबाट सेवा सुचारु गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुहुँदै मुख्यमन्त्री लामाले बाहिरी जिल्लाका बिरामीहरुको पनि सहजै स्वास्थ्य सेवामा पहुँच पुग्नु गौरवको विषय भएको धारणा राख्नुभयो ।
मुख्यमन्त्री लामाले प्रतिष्ठानबाट उत्पादन भएका जनशक्तिहरुले प्रदेशको गौरव देशमै उचो हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । देशको दुर्गम क्षेत्रहरुमा समेत आफ्नो कला र कौशल देखाउन उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री लामाले लोकतन्त्र र प्रजातन्त्र आएपछि डाक्टर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । देशको सबै क्षेत्रमा निजी क्षेत्रको समेत सहभागितामा प्रतिष्ठान, विश्वविद्यालय मार्फत डाक्टर, इन्जिनियर उत्पादन हुन थालेको जिकिर गर्नुभयो ।
त्यसैगरी प्रतिष्ठानका संस्थापक कुलपति एवम् प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्मलाई बुझ्न नसक्नेहरुले प्रतिष्ठान र हेटौंडा अस्पतालको बीचमा विवाद सिर्जना गरेको बताउनुभयो । संघीयतापछि सम्पूर्ण जिल्ला अस्पतालहरु प्रादेशिक अस्पतालमा रुपान्तरण भएको उहाँको धारणा छ । प्रथम मुख्यमन्त्री पौडेलले विगतमा प्रतिष्ठानले विभिन्न मुद्धा मामिला झेल्दै अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । वर्तमान समस्या प्रतिष्ठान विवादमुक्त भएको बताउनुहुँदै उहाँले कसैपनि प्रतिष्ठानको बारेमा द्विविधा नपाल्न आग्रह गर्नुभयो ।
त्यसैगरी वाषिकोत्सव समारोहमा बोल्नुहुँदै श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतिष्ठान, विश्वविद्यालयहरुले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरेको बताउनुभयो । प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाको अनुपस्थितिमा उक्त मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएका मन्त्री महर्जनले प्रतिष्ठानलाई व्यवस्थित गर्न ऐन, कानुनलाई संशोधन गरिएको समेत उल्लेख गर्नुभयो । भुगोलको हिसाबले पनि हेटौंडालाई उपयुक्त ठाउँ भएकोले हेटौंडालाई मेडिकल सिटीको रुपमा अगाडि बढाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपकुलपति प्रा.डा. प्रदिप ज्ञवालीले प्रतिष्ठानले गरेका गतिविधि बारे प्रस्तुतीकरण राख्नुभएको थियो । प्रतिष्ठानले यसबर्षदेखि ८ सिट प्राप्त गरी स्नातकोत्तर तहका विभिन्न ७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कुलपति प्रा.डा. ज्ञवालीले जानकारी दिनुभयो । नवआगुन्तक एमडि र एमएस तर्फका ८ जना विद्यार्थीहरुलाई स्वागत समेत गरिएको थियो । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानमा हाल ३ सय ६६ जना विद्यार्थीहरु अध्ययनरत् छन ।