२५ केजी भार सहितको ड्रोन सफलतापूर्वक परिक्षण

बागमती प्रदेश सरकारले अत्यावश्यक सामग्रीको ढुवानी तथा विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी परीक्षण कार्यक्रम गरेको छ ।
आइडिया हब इन्टरनेशलन प्रा.लिसँगको सहकार्यमा बागमती प्रदेशको श्रम रोजागर तथा यातायात मन्त्रालयले ड्रोन मार्फत् अत्यावश्यक सामग्रीको ढुवानी कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अभ्यास गरेको हो । हेटौडा ६ स्थित गौरीटार रंगशालामा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा २५ केजी भार सहितको ड्रोन सफलतापूर्वक परिक्षण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले ड्रोन प्राविधिको प्रयोग बिपद् व्यवस्थापनमा अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सडक अवरुद्ध हुँदा, डुबान वा पहिरोका कारण राहत पु¥याउन नसक्ने स्थितिमा ड्रोन प्रविधि उपयोगी विकल्प हुन सक्ने उहाँको धारणा थियो । उहाँले देशको भौगोलिक विविधता, जोखिमयुक्त क्षेत्र तथा प्राकृतिक प्रकोपको समयमा ड्रोन प्रविधि प्रभावकारी हुने बताउनुभयो ।
यसको नियमनका लागि प्रदेश सरकारले आवश्यक कानून निर्माण गर्ने पनि उहाँले बताउनुभयो । नेपालजस्तो जोखिमपूर्ण भूगोल भएको देशमा बाहिरी उत्पादनमा निर्भर रहनुभन्दा आफ्नै प्रविधि विकास गर्नुपर्नेमा मुख्यमन्त्री लामाकोे जोड थियो ।
कार्यक्रममा श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपाल प्रविधिसँगै अपडेट हुँदै गएको बताउनुभयो । हरेक क्षेत्रमा प्रविधिको आवश्यकता रहेकोमा जोड दिदै मन्त्री महर्जनले यातायात, विपद् व्यवस्थापन र सुशासनमा पनि प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।