गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा शहीद स्तम्भ अनावरण

छहारी संवाददाता
जेष्ठ १६, २०८२

गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा शहीद स्तम्भ अनावरण गरिएको छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरले हेटौंडा–४ गर्दोई स्थित पार्टी कार्यालय परिसरमा निर्माण गरेको शहीद स्तम्भको शहीद परिवारका सदस्यहरू मार्फत् नै अनावरण गरिएको हो । शहीदहरु रुद्र पाख्रिन, एकनाथ सुवेदी ‘आकाश‘ र जगन्नाथ नेपालको परिवारका सदस्यबाट संयुक्त रुपमा स्तम्भ अनावरण गरिएको थियो ।

स्तम्भमा १० वर्षे जनयुद्धका क्रममा शाहादत प्राप्त गरेका मकवानपुरका १ सय २ जना शहीदहरुको नाम समेटिएको छ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्न जनताले ठूलो बलिदान दिएको स्मरण गर्नुभयो । शहीदहरूको सपना साकार पार्दै गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।

वर्षौँदेखि आवश्यकताको रूपमा लिइएको शहीद स्तम्भ निर्माणले सार्थकता पाएको उल्लेख गर्दै अब आम नागरिकलाई मकवानपुरका शहीदहरूको नाम पढ्न र बुझ्न सहज हुने उहाँको विश्वास छ ।

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले सबै शहीद परिवारलाई समान रुपमा हेर्नुपर्ने बताएका थिए ।
नेकपा माओवादी केन्द्रले परिवर्तनको पक्षमा ज्यान अर्पण गर्नेहरुको योगदानलाई सम्मान गर्दै बेपत्ता तथा शहीदका परिवारलाई सुरक्षित आवास निर्माण शुभारम्भ गरेको छ ।

शहीद डिलबहादुर रखेलको परिवारलाई बागमती गाउँपालिका बेतिनीमा नयाँ घर निर्माणको थालनी समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*