भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर ढंगले छानविन हुनुपर्छ: नारायणकाजी श्रेष्ठ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर ढंगले छानविन हुनुपर्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको भन्दै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सहजीकरण गर्नुपर्ने उहाँको भनाई छ ।
पूर्वगृहमन्त्री समेत रहनुभएका श्रेष्ठले अध्यागमन विभागमा विगतदेखि हुँदै आएको अनियमितता र सेटिङबारे आफैं गृहमन्त्री हुँदा छानबिन गरेर दलालको सेटिङ भत्काएको बताउँदै अहिलेको सरकारले भने संरक्षण गरिरहेको आरोप लगाउनुभयो ।
पूर्वगृहमन्त्री श्रेष्ठले सुशासन नै प्रतिगमन विरुद्धको अचुक अस्त्र रहेको बताउनुभयो । अहिले दुई ठूला दल मिलेर बनेको सरकारले जनतामा सुशासनको अनुभूति दिन नसकिरहेकोले जनतामा निराशा छाएको उहाँको भनाई छ ।
जनताले सुशासनको प्रत्याभूति खोजिरहेका बेला् सरकारले प्रतिगमनकारी प्रवृत्तिलाई संरक्षण गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले लोकतन्त्रको सबल कार्यान्यनमा रहेको नेकपा माओवादी केन्द्रले बजेट ल्याउन दिने उहाँले बताउनुभयो ।
श्रेष्ठ नेकपा माओवादी केन्द्रको विस्तारित जिल्ला भेलालाई सम्बोधन गर्न मकवानपुर आउनुभएको थियो । प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।