बकैया ७ को हर्दा खहरे बोरिङ सिचाई आयोजनाको उद्घाटन

मकवानपुरको बकैया गाउँपालिका –७ मा हर्दा खहरे बोरिङ सिचाई आयोजनाको उद्घाटन गरिएको छ ।
बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बोरिङको नेपाली काँग्रेसकी सह–महामन्त्री एवम् पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कुल ३६ लाख लागतमा सम्पन्न आयोजनाबाट १५ बिगाहा क्षेत्रफल जमिनमा सिचाई सुविधा उपलब्ध हुने बताइएको छ । उद्घाटन समारोहमा बोल्दै सह–महामन्त्री उपाध्यायले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धी गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले रासायनिक मलको कारण माटोको उर्वराशक्ति हस हुँदै गएकोमा चिन्ता व्यक्त गर्दैैै रसायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेतृ उपाध्यायले अब जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले पनि जैविक मलामा अनुदानको व्यवस्था गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशका खानेपानी उर्जा तथा सिँचाईमन्त्री खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने धारणा राख्नुभयो । बागमती प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाईको उचित प्रबन्ध गरेर यहँँी रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । उहाँले तीन तहको सरकारबीच समन्वय गरी विकास निर्माणका कार्यहरू अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
मन्त्री खड्काले बेतेनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझैपनि खानेपानीको चरम अभाव रहेको बताउँदै निर्वाचित जनप्रतिनिधिहरूले दल भन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता पनि औँल्याउनुभयो ।
बंजर जमिनमा सिँचाई सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू खुशी भएका छन् । आकाशे पानीको भरमा वर्षको एकबाली मात्रै खेती गर्दै आएका किसानहरु वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।
यो सिचाई आयोजनाले १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले बताउनुभयो ।
सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेस नेता आनन्दराम पराजुली, पूर्व पालिकाध्यक्ष दामोदर खनाल, अन्य जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिती थियो ।