हेटौंडा सिमेन्ट र कपडा उद्योग सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिन मुख्यमन्त्री लामाको आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिह लामाले बन्द अवस्थामा रहेका हेटौंडा सिमेन्ट उद्योग र कपडा उद्योग सन्चालनको जिम्मा प्रदेश सरकारलाई दिन आग्रह गर्नु भएको छ ।
प्रदेश युवा परिषद बागमतिले आयोजना गरेको मुख्यमन्त्रीसँग युवा संवाद कार्यक्रममा बोल्दै बन्द अवस्थामा रहेका दुई उद्योग सन्चालनको जिम्मा प्रदेश सरकारलाई दिन आग्रह गर्नुभएको हो । प्रदेश सरकारले दुई वर्षभित्र यी उद्योगहरूलाई नाफामा लैजाने दाबी समेत गर्नुभयो ।
मुख्यमन्त्री लामाले संघीय सरकारले उद्योगग सन्चालनको जिम्मा दिएमा प्रदेशमै उत्पादन भएका सिमेन्ट र कपडालाई अनिवार्य रूपमा प्रयोगमा ल्याउने नीति बनाएर लैजाने जिकिर गनुृभयो । मुख्यमन्त्रीले युवामैत्री नीति निर्माण, रोजगारी सिर्जनाका कार्यक्रम र उद्योगमैत्री वातावरण सिर्जनालाई आगामि आर्थिक वर्ष सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
विज्ञान, प्रविधि र उद्यमशिलता जोडेर रोजगारीको वातावरण बनाउन सरकार तयार रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले अब परिणाममुखी बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै पर्यटन, कृषि लगायतका क्षेत्रमा युवाको सहभागिता बढाउने समेत बताउनुभयो ।
प्रदेश सरकारले सिटिभिटीमार्फत ३६ सय युवालाई सीपमूलक तालिम दिइसकेको जनाउँदै, अब बीउपुँजीको समेत व्यवस्था गरिने मुख्यमन्त्रीले जानकारी दिनुभयो । असम्भवलाई सम्भव बनाउने शक्ति युवासँगै हुने भएकोले यसको लागि साथ दिन उहाँले युवाहरुलाई आग्रह गर्नुभयो ।