१० बुँदे घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन २०८२ सकियो

१० बुँदे घोषणापत्र जारी गर्दै तीन दिने प्रदेश युवा सम्मेलन २०८२ सकिएको छ ।
सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण भन्ने नाराका साथ प्रदेष युवा परिषद् बागमतीको आयोजनामा आइतबार देखि सुरु भएको सम्मेलनले प्रदेशको समृद्धि र सुशासनका लागि युवालाई निर्णायक शक्ति बनाउने संकल्प सहितको १० बुद्धे घोषणापत्र जारी गरेको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईद्धारा जारी घोषणापत्रमा प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशिलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । घोषणापत्रमा तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापनाको माग गरिएको छ । यस बैंक मार्फत युवाको नयाँ सोच र परियोजनालाई बिनाधितो कर्जा, बीउपुँजी र प्राविधिक सहयोगमार्फत कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, नीति निर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको कार्यकारी उपाध्यक्ष चौंलागाईले बताउनुभयो । स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरी युवामैत्री नीति र बजेट निर्माण गर्न आवश्यक रहेको घोषणापत्रमा जनाइएको छ । घोषणापत्रले युवा सीप वर्षलाई निरन्तरता दिँदै त्यसलाई उद्यम, बजारीकरण र लगानीसँग एकीकृत रूपमा जोड्नुपर्ने धारणा राखेको छ ।
कृषि नवप्रवर्तन कोष स्थापना गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्मार्ट फार्मिङ र एग्रो–स्टार्टअपलाई प्रवद्र्धन गर्ने, कृषिमा डिजिटल प्रविधिको प्रयोग अनिवार्य गरिनुपर्ने र कृषि उद्यम गर्न चाहने गरेका विद्याथीृ प्रमाणपत्रको अधारमा कर्जा प्रवाह गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारका सबै सेवा प्रणालीहरूलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै युवा–मैत्री डिजिटल सरकारको अभ्यास सुरु गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै, पछिल्लो समय युवाबीच बढ्दो मानसिक तनावलाई सम्बोधन गर्न प्रदेशभर मानसिक स्वास्थ्य परामर्श केन्द्र, विद्यालय तथा कलेजहरूमा साइको–सोसल सपोर्ट सिस्टम र २४ सै घण्टा उपलब्ध हुने हेल्पलाइन सेवा स्थापना गर्न प्रदेश सरकारलाई आग्रह समेत गरिएको छ ।
संविधानले प्रत्याभूत गरेका शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्दै नवप्रवर्तन, इनक्युबेसन सेन्टर, स्टार्टअप हब, हरित रोजगारी, ग्रीन इनोभेसन र सस्टेनेबल स्टार्टअपहरूलाई प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी आवश्यक रहेको घोषणापत्रमा औंल्याइएको छ । साहित्य, संगीत, डिजिटल कला, लोक शिल्प र चलचित्र निर्माण जस्ता विधामा संलग्न युवालाई प्रदेशस्तरीय प्रर्वद्धन गर्ने कार्यक्रम ल्याउन प्रदेश सरकार समक्ष माग गरिएको छ ।
बागमती प्रदेशको कुल जनसंख्याको करिब ४५ दशमलव ४ प्रतिशत हिस्सा युवा जनशक्तिले ओगटेको छ । परिषद्द्धारा जारी घोषणापत्र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई बुझाइएको छ ।