युवाको क्षमता विकास गर्न मकवानपुर क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै

मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।
‘दीगो विकासका लक्ष्यको स्थानीयकरण ः युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुन लागेको हो । वैशाख २७ गते शनिबारदेखि वैशाख २९ गतेसम्म ३ दिन सम्मेलन गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सम्मेलनमा देश–विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुने क्याम्पसमा प्रमुख डा.यमबहादुर सिलवालले जानकारी दिनुभयो ।
केही प्रतिनिधि र केही विज्ञ भने अनलाईनमार्फत नै सहभागी हुने उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुहुनेछ । सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ । सम्मेलनले स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले बताउनुभयो ।
उद्घाटनको कार्यक्रम हेटौँडाको एभोकाडो होटलमा हुनेछ भने आइतबार र सोमबारको दुई दिने कार्यक्रम क्याम्पस परिसरमै हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनमा जापान,भारत, मलेसिया, थाइल्याण्डबाट अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नेछ । त्यसैगरी कार्यक्रममा देशभरबाट ५७ वटा अनुसन्धान कार्यपत्र समुहगत रुपमा प्रस्तुत हुने प्रमुख सिलवालले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, हेटौँडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहेको क्याम्पस प्रमुख सिलवालले बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोग (यूजिसि) नेपालले प्रदान गर्ने गुणस्तर सुनिश्चित्तता तथा प्रत्ययनको तेश्रो चरणको प्रक्रियामा रहेको छ ।
पत्रकार सम्मेलनमा क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाई, दिनेश बिडारी, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।