सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम

नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति विषयक दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
सुनौलो सिसौट नेपालको आयोजनामा बुधबारदेखि सुरु भएको तालिमको जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलानले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि घलानले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा नयाँ अवसरसँगै विभिन्न चुनौतीहरू पनि थपिएको बताउनुभयो । उहाँले तथ्यमा आधारित रहेर व्यवसायिक पत्रकारिता गर्दै चूनौतीहरू पार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारिता अहिले डिजिटल प्लेटफर्ममा रूपान्तरण भइसकेको उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रमा देखिएका विकृती विसङ्गतीलाई चिर्दै समाजलाई नयाँ ढङ्गमा लैजान सञ्चारकर्मीले नतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
तालिमको पहिलो दिन अग्रज पत्रकार दिलभूषण पाठकले पत्रकारितामा प्रविधिको प्रयोग, पत्रकारितामा लैङ्गिक संवेदनशीलता लगायतका विषयमा अनुभव सहित प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, प्राध्यापक डा. निमेष निखिलले समाचार लेखनमा भाषिक शुद्धता र आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचना प्रविधिको समुचित प्रयोग, साइबर सुरक्षा, डिजिटल प्लेटफर्मको सदुपयोगलगायत विषयमा व्यावहारिक ज्ञान प्रदान गर्नुभयो ।
बिहीबारसम्म सञ्चालन हुने तालिममा मकवानपुर जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील २६ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ । सुनौलो सिसौट नेपालका सचिव अनिकेत तिवारीले तालिमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।