जमिन भासिएर हराएको गाडीको खोजीमा आएका भूगर्भविद्को टोली फर्कियो

जोखिमयुक्त क्षेत्र पहिचानको लागि १७ स्थानबाट नमूना संकलन
छहारी संवाददाता
बैशाख २४, २०८२

हेटौंडा उपमहानगरपालिका–१६ मा जमिन भासिएर हराएको गाडीको खोजीमा संलग्न भूगर्भविद्को टोली प्रारम्भिक अनुसन्धानपछि फर्किएको छ ।

घटनास्थलमा भूगर्भीय जोखिम रहेकाले तत्काल थप अध्ययन गर्न नसकिएको टोलीले जनाएको छ । घटनास्थलको जमिन र त्यसवरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भूगर्वविद् कृष्ण पाण्डेले बताउनुभयो । उहाँका अनुसार, जोखिमयुक्त क्षेत्र पहिचानका लागि घटनास्थलका १० स्थान सहित वरपरका ७ स्थानबाट नमूना संकलन गरिएको छ । त्यसबाट आएको नतिजा अनुसार मात्रै दोस्रो चरणको अनुसन्धान थालिने उहाँले बताउनुभयो ।

दुई दिनसम्म अप्रत्यक्ष प्रविधिको प्रयोग गरेर अध्ययन गर्दा भूगर्भीय तरलिकरणका कारण गाडी भासिएको बताइएको छ । जमिनमाथि माटो देखिएतापनि सतहमुनि फाइन स्यान्ड(मसिनो बालुवा) र दलदल परेको माटो रहेको भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो । यस्तो अवस्थामा जमिन कम्पन वा धक्काको कारणले तरल जस्तो बन्ने हुँदा जमिनको सतहले भार सहन नसकी तौल धेरै भएका वस्तुहरू भासिने गर्दछन् ।

म्याग्नेटोमिटरको प्रयोगका आधारमा गाडी ६ मिटर गहिराइमा पुरिएको अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहामनगरपालिकाले वरपर ५० मिटर क्षेत्रलाई सिल गर्नुका साथै सावधानी अपनाउन आग्रह गरेको छ । यस घटनाले संरचना निर्माण अघि भूगर्भीय परीक्षणको आवश्यकता देखाएको छ ।

विशेषगरी माछा पोखरी, कुलो, सिँचाइ प्रणाली र बोरिङ जस्ता संरचनाहरूका कारण जमिन थप कमजोर हुने भएकाले भूगर्भविद्हरूले अध्ययन अनिवार्य गरिनुपर्ने बताएका छन् । गतशुक्रबार साँझदेखि ना४ च ४८३३ नम्बरको डिआई पिकअप गाडी गाडी कच्चि सडकमा गुड्दा गुड्दै माटो भासिएर हराएको थियो । चालक र सहचालक भने समयमै गाडीबाट निस्किन सफल भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*