हेटौंडा १६ गैरीगाउँमा गाडी भासिएको स्थानमा अध्ययन सुरु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन कार्य जारी रहेको छ ।
खानी तथा भूगर्भ विभागबाट आएको भूगर्वविद् सहितको पाँच सदस्यीय टोलीले घटनास्थलमा भूगर्भीय अध्ययन सुरु गरिसकेको छ । टोलीले स्थलको भूगर्भीय बनावट, माटोको तह, भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गरिरहेको भूगर्भविद् नारायण अधिकारीले जानकारी दिनुभयो । भूर्गवविद्को टोलीले हराएको गाडीका चालक हरेराम राईसँग घटनाको विस्तृत विवरण समेत लिएका थिए ।
अध्ययनको क्रममा प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी चुम्बकीय क्षेत्र तथा एनोमेलिक पदार्थको अवस्था परीक्षण हुँदैछ । बिहानबाट सुरु भएको अध्ययन कार्यमा केहीबेर पानी परेपछि रोकिएको थियो । मौसममा सुधार आएसँगै पुनः अध्ययन सुचारु गरिएको छ । अधिकारीका अनुसार, आवश्यक उपकरणको सहयोगमा माटोको गहिराइसम्मको जानकारी संकलन गरिनुका साथै घटनास्थल वरपर समेत अध्ययन गरिनेछ ।
गत शुक्रवार गैरीगाउँको भित्री सडकमा ना ४ च ४८३३ नम्बरको गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो । लगातार खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भ विज्ञ टोली बोलाएर औपचारिक अध्ययन सुरु गरेको हो ।
अध्ययन टोलीमा भूगर्वविद् अधिकारी सहित कृष्ण पाण्डे र मणि खनाल तथा प्रविधिकहरु रहेका छन् । जोखिमयुक्त क्षेत्र भएका कारण सुरक्षित हुनका लागि ५० मिटर वरिपरी आउजाउ निषेध गरिएको छ ।