अदृश्य शक्तिहरुले राज्य संयन्त्रलाई घेराबन्दी गरी अर्थतन्त्र ध्वस्त बनाएः नन्दकिशोर पुन

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनले केही अदृश्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरी अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाउनु भएको छ ।
सोमबार हेटौंंडामा आयोजित योङ कम्युनिष्ट लिग ९वाईसिएल० मकवानपुरको पाँचौ जिल्ला सम्मेलनमा सम्बोधन गर्दै उहाँले अदृश्य शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्याप्त भएर फैलिएको बताउनुभयो । देशको राष्ट्रियतामाथि नै हस्तक्षेप गर्ने हस्तक्षेतकारीहरुसंग ति शक्तिहरुको साँठगाँठ रहेको उल्लेख गर्दै उहाँले तिनीहरुकै कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको जिकिर गर्नुभयो ।
उपाध्यक्ष पुनले आफु दुई पटक उपराष्ट्रपति हुँदा अदृश्य शक्तिहरुको सञ्जाललाई चिनिसकेको दाबी गर्दै देश बचाउन त्यस्ता सञ्जाललाई तोड्नुपर्ने बताउनुभयो ।
पूर्व उपराष्ट्रपति समेत रहनुभएका पुनले वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाई भएपनि देशमा सुशासन कायम गर्न नसकेको टिप्पणी गर्नुभयो । । उहाँले सरकारको गतिविधिको कारण दलाल पुँजीपतीहरुको मनोबल उच्च भएको जिकिर गर्नुभयो ।
उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएको बताउदै उहाँले कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युताएको समेत जिकिर गर्नुभयो ।