राक्सिराङ्ग वडा नं १, २ र ३ का जनतालाई खानेपानीको सुविधा

मकवानपुरको राक्सिराङ्ग गाँउपालिकाको वडा नं १, २ र ३ का जनताले खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन् ।
बुधबार राक्सिराङ्ग– २, भाटीमा ‘भाटी थुम्कीको लिफ्टिङ्ग प्रणाली’को शुभारम्भ भएसंगै जनताले पानी खान पाउने भएका हुन् । भाटी थुम्की स्कीम नं २ खानेपानी योजना उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले धारा खोलेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री खड्काले स्थानीय सरकार जनताको सम्पूर्ण आवश्यकता पुरा गर्न लागिपरेको बताउनुभयो । उहाँले विकास आवश्यकताका आधारमा प्राथमिकिकरण गर्दै लैजाँदा सहज हुने जिकिर गर्नुभयो । आफूले पाएको सुविधाहरुलाई दिगो बनाउनका निमित्त जनताले पनि हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।
सो कार्यक्रममा राक्सिराङ्ग विशेष खानेपानी योजना अन्तर्गत स्किम नं २ को शुभारम्भ भएको हो । जसअन्र्तगत ३ वटा ट्याङ्की, पम्प हाउस र कार्यालय रहेको ३ वटा भवन रहेको छ भने विद्युतीय कार्यअन्तर्गत लिफ्टिङ कार्य सफलतापूर्वक सम्पन्न भएको छ । साँढे ४ करोड लागत अनुमान गरिएको योजना हालसम्म सम्पन्न हुँदा झण्डै ३ करोड खर्च भएको छ । हाल पानी वितरण कार्य शुरु हुँदा १०० वटा धारा वितरण गरिएको छ भने यसबाट राक्सीराङ्ग गाउँपालीकाका वडा नं १,२,३ का ६५० घरधुरी लाभान्वित हुनेछन् ।
खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर पिठाकोठीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयका प्रमुख सचिव मोहन कुमार शाक्य, राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मन्त्रीका राजनितिक सल्लाहकार राजेन्द्र श्रेष्ठ, खानेपानी कार्यालयका डिभिजन प्रमुख रविन श्रेष्ठ, राक्सिराङ्ग गाँउपालिका उपाध्यक्ष वनस्तम थिङ, इन्जिनियरद्धय सुस्मिता लामिछाने र अस्विन पौडेल, राक्सिराङ्ग गाँउपालिका वडा नं २ अध्यक्ष बुद्धराम मोक्तान लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो ।