संघीय प्रहरी ऐन नआउँदा प्रदेश प्रहरीको सम्बन्धमा द्विविधा रहेको छः मन्त्री लामिछाने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधानमा व्यवस्था भए बमोजिमको अधिकारको प्रत्यायोजना अझै हुन नसकेको बताउनुभएको छ ।
संघीय प्रहरी ऐन नआउँदा प्रदेश प्रहरीको सम्बन्धमा द्विविधा रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण गरिएको सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको बुधबार उद्घाटन गर्नुहुँदै उहाँले प्रहरी संगठन प्रभावकारी हुन कानुन, नीति, रणनीति, योजना स्पष्ट रुपमा पारिभाषित हुनुपर्ने बताउनुभयो ।
संघीयताको सफल कार्यान्वयनको लागि पनि प्रदेश प्रहरीको सम्बन्धमा सबै गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री लामिछानले मकवानपुरको हटियामा निर्माण हुने प्रदेश प्रहरी अस्पताललाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको यस अस्पतालका लागि चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीको क्रियाशिलता र सेवा प्रवाहमा कमी नहोस् भनेर प्रदेश सरकारले लगानी गरिरहेको समेत उहाँले दाबी गर्नुभयो ।
मन्त्री लामिछानेले प्रहरी सेवा र पूर्वाधारमा कमी नहोस् भनेर प्रदेश सरकारले २०७५ सालदेखि निरन्तर लगानी गर्दै आएको बताउनुभयो । उहाँका अनुसार, हालसम्म प्रदेश सरकारले नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणमा ३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ लगानी गरिसकेको छ ।
चालु आर्थिक वर्षमा मात्रै १८ वटा प्रहरी भवन निर्माणका लागि १० करोड ४४ लाख रुपैयाँ तथा भवन संरचनागत सुधारतर्फ थप तीन करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
तीन तले उक्त ब्यारेक भवन कुल एक करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाही, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।