खेलकुदलाई सरकारले पर्याप्त बजेट नदिएको खेलकुद मन्त्री महर्जनको गुनासो

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई सरकारले पर्याप्त बजेट नदिएको गुनासो गर्नुभएको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा मंगलबारदेखि हेटौँडामा सुरु भएको खेलकुद पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महर्जनले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा दुःख लागेको बताउनुभयो ।
प्रदेशको ८० प्रतिशत खेलाडीले देशमा प्रतिनिधित्व गरेपनि आगामी आर्थिक वर्षमा खेलकुद मन्त्रालयको लागि ६१ करोड रुपैंयाको सिलिङ तोकिनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ । खेलकुद क्षेत्रमा राज्यको चासो कम पर्दा बिदेसिने युवाहरूको संख्या बढिरहेको उहाँले बताउनुभयो । मन्त्री महर्जनले युवा पलायन रोक्न पनि खेलकुद क्षेत्रमा बजेट बढाउन जरुरी भएको धारणा राख्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले खेलकुद क्षेत्रको विकास पुरानो ढंगलबाट हुन नसक्ने बताउनुभयो । नयाँ ढंगबाट लगानीको उत्पादन अध्ययन गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सम्भाव्यता अध्ययन गरेर सरकारले लगानी गर्नुपर्ने सदस्य सचिव लामाले बताउनुभयो । जनघनत्व र आवश्यकताको आधारमा लगानी गरेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा परिषद्का कार्यालय प्रमुख सुर्य बहादुर दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो । २ दिनसम्म हुने कार्यक्रममा प्रकाश तिमल्सिना र पवन आचार्यले खेलकुद पत्रकारिता सम्बन्धी प्रशिक्षण दिनुहुनेछ ।