अध्यादेशले सरकारको नियत माथि नै प्रश्न उठायो : महासचिव गुरुङ

छहारी संवाददाता
माघ १९, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार भ्रष्टाचारीतन्त्र र कमिशनतन्त्रको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ । प्रेस सेन्टर नेपाल, मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले मूलुक चरम आर्थिक संकटमा पर्नुको जड कारण भ्रष्टाचारीतन्त्र र कमिशनतन्त्र रहेको बताउनुभयो । सरकार भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम राख्नुपर्नेमा उल्टै भ्रष्टको संरक्षणमा लागेको उहाँले आरोप लगाउनुभयो । सरकारका यस्ता प्रवृति विरुद्ध प्रतिपक्षी माओवादी केन्द्र सडक र सदनबाट सशक्त रुपमा प्रतिकार गर्ने उहाँले उद्घोष गर्नुभयो ।

महासचिव गुरुङले अध्यादेश ल्याउनुले सरकारको नियत माथि नै प्रश्न उठेको बताउनुभयो । सदन डाक्ने बेलामा सरकारले अध्यादेश जारी गरेर लोकतन्त्र माथि नै प्रहार गरेको उहाँले बताउनुभयो । सदनमा विचारधिन अवस्थामा रहेको आर्थिक कार्यविधि सम्बन्धी विद्येयक अध्यादेश मार्फत् जारी गरेर सरकारले लोकतन्त्रको खिल्ली उडाएको उहाँले जिकिर गर्नुभयो ।

गिरीबन्धु टि–स्टेटको विषयमा प्रश्न उठिरहेको बेलामा सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसले आशंका पैदा गरेको महासचिव गुरुङले बताउनुभयो । सरकारले संसद छलेर कानून संशोधन गर्न खोज्नु गम्भिर विषय रहेको उहाँले बताउनुभयो । महासचिव गुरुङ प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ बागमती प्रदेश सम्मेलन उद्धाटनका लागि प्रदेश राजधानी हेटौंडा आउनुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*